नागरिक पोष्ट News


सरकारको निर्णय असोज १ गते आज देखि लामा तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने

1.5K

काठमाडौं, ३१ भदौ । सरकारले असोज १ गते  देखि लामा तथा छोटो दूरीका सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने निर्णय गरेसँगै पर्यटन व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेको राससले जनाएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिबान) का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिएका छन् । झण्डै ६ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको उनको भनाइ छ । ‘पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गर्न लागेका छौं,’ उनले भने । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उनले बताए । कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बससेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताए । हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् ।

Must View