नागरिक पोष्ट News


मानसिक समस्याका कारण ९५ प्रतिशत आत्महत्या - मनोचिकित्सक

1.9K

काठमाडौं । मनोचिकित्सकहरुका अनुसार आत्महत्याको रोकथाम गर्न सकिन्छ । मनोविश्लेषक वासु आर्चायले ९५ प्रतिशत आत्महत्या मानसिक समस्याका कारण हुने गरेको बताए । उनका अनुसार ६० प्रतिशत डिप्रेसनका कारण हुने गरेको देखिन्छ भने अन्य विभिन्‍न कारणले हुने गरेको देखिन्छ ।

मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार सोच्‍न सक्ने क्षमतामा ह्रास आउने, सही र गलत छुट्याउने क्षमतामा ह्रास आउने, नकारात्मक सोच बढी आउने हुन्छ तर, त्यस्तो समस्याबारे कसैलाई भन्‍न नसक्ने भावना आएपछि आत्महत्या गर्ने गरेको देखिन्छ । कतिपय उपचारका लागि आएका बिरामीहरु आफूलाई डिप्रेसन भएको हो, तर मानसिक रोग होइन भन्दै उपचारका आएका उनले बताए ।

उनका अनुसार डिप्रेसनका लक्षणमा लामो समयसम्म नरमाइलो लाग्‍ने, केही गर्न मन नलाग्‍ने, शरीरमा स्फूर्ति नहुने, जाँगर नचल्ने, आफ्नो काममा ढिलासुस्ती बढ्दै जाने, एक्लै बस्‍न मन लाग्‍ने, रुन मन लाग्‍ने, शंका लाग्‍ने, आफ्नो काममा ध्यान नजाने, केही गर्न मन नलाग्‍ने, रिस उठ्ने, झर्को लाग्‍ने, खाना खान मन नलाग्‍ने आदि हुन् । यस्ता लक्षण बढ्दै गएमा मानिसमा आत्महत्याको सोचसमेत आउने उनले बताए ।

माथिका कुनै पनि लक्षण देखिए आफूले मनले खाएको व्यक्तिलाई भन्‍ने, यसो गर्दा पनि समस्या व्यवस्थापन गर्न नसकिए मानसिक रोग विशेषज्ञ वा मनोरोग विशेषज्ञलगायत कहाँ जानुपर्ने उनको सुझाव छ ।

यसैगरी, हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । संगठनका अनुसार विश्वमा एक वर्षको अवधिमा ८ लाख मानिसले आत्महत्या गरेको पाइएको छ ।

नेपाल प्रहरीको आर्थिक वर्ष ०६१/६२ देखि ०७१/७२ सम्म गरी १० वर्षको तथ्यांक हेर्दा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाइएको छ । आत्महत्याको दर बढदै गएर आर्थिक वर्ष ०७३/७४ मा पाँच हजार १२४,०७४/७५ मा पाँच हजार ३४६ जना, ०७५/७६ मा पाँच हजार ७५४ र आर्थिक वर्ष ०७६/७७ मा ६ हजार २७९ जनाले आत्महत्या गरेको देखिन्छ ।

Must View