नागरिक पोष्ट News


३३ जलविद्युत कम्पनीको शेयर मूल्य बढ्यो, २८ वटा कम्पनीको शेयरमूल्यमा सर्किट, कारण यस्तो छ

2.3K

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत ३३ वटै जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका अन्य समूहमध्ये सर्वाधिक ९ दशमलव ३ प्रतिशतले परिसूचक बढ्दा जलविद्युत क्षेत्रका सबै कम्पनीहरूको शेयर मूल्य बढेको हो । शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

बुधवार बजार २५ दशमलव ५८ अंकले उकालो लागेर १ हजार ५१० दशमलव ५७ विन्दुमा पुगेको छ ।

शेयर बजारमा सूचीकृत भएका जलविद्युत क्षेत्रका ३३ कम्पनीहरूमध्ये १२ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल नै रहेको छ । जोशी हाइड्रोपावर, रिडी हाइड्रोपावर , युनियन हाइड्रो, माउण्टेन हाइड्रो, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर, हिमाल दोलखा, नेशनल हाइड्रो र पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य बुधवारसम्मको कारोबारमा अंकितमूल्य भन्दा तल रहेको हो ।

सर्वाधिक शेयरमूल्य बृद्धि हुने कम्पनीहरूमा पनि जलविद्युत क्षेत्रकै कम्पनीहरू रहेका छन् । यस दिन ३३ कम्पनीमध्ये बुधवार ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बृद्धि भएको छ । यस दिन अपि पावर, अरुण भ्याली हाइड्रोपावर , पाँचथर पावर, जोशी हाइड्रो, ङादी ग्रुप , रिडी हाइड्रो , युनियन हाइड्रो र राधी विद्युत कम्पनी रहेका छन् । 

उक्त दिन २१ जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी, तीन कम्पनीको ८ प्रतिशतभन्दा बढी र एक कम्पनीको ५ प्रतिशतभन्दा बढीले शेयरमूल्य बढेको छ । जलविद्युत कम्पनीहरूमध्ये दोस्रो बजारमा चिलिमे जलविद्युत कम्पनीको शेयर मूल्य सबैभन्दा बढी रहेको छ । बुधवार चिलिमे जलविद्युत कम्पनीको अन्तिम शेयर मूल्य ४५२ रुपैयाँ पुगेको छ । 

बढेको बजारमा कम मूल्य रहेका जलविद्युत क्षेत्रका कम्पनीहरूको शेयरमा आकर्षण बढ्नुको कारण यो वर्ष राम्रो लाभांश दिने अपेक्षाका रहेको लगानीकर्ताहरू बताउँछन् । 

५ प्रतिशत लाभांश दिने अन्य क्षेत्रका कम्पनीहरूको शेयर ५ सय रूपैयाँ तिर्न पनि तयार रहेका हामी ५ प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने एक सय रूपैयाँका जलविद्युत कम्पनीहरूको शेयरमा लगानी गर्न उत्साहित रहेको लगानीकर्ताहरूको भनाइ छ ।

 

Must View