यस वर्ष कोरोनाको कारण सोर्हश्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्ममा पनि गर्न शास्त्रसम्मत् हुने
यस वर्ष २०७७ को पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि परेको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सोह्र श्राद्ध गराउने ब्राह्मण यजमानकहाँ जान कठिन छ । विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला शहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिकरुपमा सूचनासमेत जारी गरेका छन् । कुनै कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।
यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्षअर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्तिअर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।