कोरोना कहर : चितवनमा अस्पताल चाहर्दाचाहर्दै ५४ बर्षीय होमबहादुरको मृत्यु, सातवटा अस्पतालले फर्काएर घर पुगेपछि उदयपुरकी महिलाको पनि मृत्यु
चितवनको भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती-३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्यु भएको छ । हेमराज ५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए भने पछिल्लो समय जण्डिस पनि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी अस्पताल भरतपुरका सबै सुविधा सम्पन्न अस्पताल र कोभिड अस्पतालमा पुर्याए तर बिडम्बना कतै उपचार भएन, गेटबाटै फर्काइयो । केही सीप नलागेपछि होमबहादुरका आफन्तलेरुवाबासी गरेर प्रहरी प्रशासन गुहारे । बिरामी लिएर तेस्रो पटक चितवन मेडिकल कलेज पुगे र आकस्मिक कक्ष अगाडि एम्बुलेन्स रोकेर हारगुहार गरे । अन्तमा बल्ल डाक्टर आएर बिरामीलाई भित्र लगे र भेन्टिलेटरको जोहो गरेर बिरामी राखियो तर त्यसको केही बेरमै होमबहादुरको मृत्यु भएको जानकारी चिकित्सकले गरे ।
सातवटा अस्पतालले फर्काएर घर पुगेपछि उदयपुरकी महिलाको पनि मृत्यु
भात सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले भर्ना नगर्दा आइतबार बिहान मृत्यु भएको छ ।
विराटनगरका सातवटा अस्पतालले भर्ना गर्न मानेनन् । त्यसपछि गोल्डेन अस्पताल पुगे, तर भर्ना नगरेपछि विराट मेडिकल कलेज लगे । बुढीगंगा गाउँपालिका २ मा रहेको मेडिकल कलेजले भर्ना नगरेपछि फेरि विराटनगर फर्किए । विराटनगरको म्याक्स अस्पताल, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल र ग्रिन क्रस अस्पताल लगेका थिए ।
इमर्जेन्सी विभाग बन्द भन्दै नोबेलले बिरामी नल्याउन भन्यो । कोशी अस्पतालमा भेन्टिलेटर नभएकाले आफन्त लगेनन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले समेत बिरामीलाई नल्याउनू भनेको चालक खत्री बताउँछन् । एकपछि अर्को अस्पतालले भर्ना नलिएपछि आफन्तले हार माने र राति साढे २ बजे घर फर्किए ।
घर पुगेको केही घण्टापछि उनको मृत्यु भएको हो ।