धर्मग्रन्थको जानकारी : चार वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद), उपनिषद् के हो ? गीतामा के छ ?
वेदमा के छ ?
वेदमा ब्रह्म ,परमेश्वर०, देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, संस्कार, रीतिरिवाज आदि लगभग सबै विषयसँग सम्बन्धित ज्ञान समाहित छ । वेद चारवटा छन् (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद) । चारै वेदका उपवेद पनि छन् । ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद उपवेद हुन् । वेदका मन्त्रहरूलाई ऋचा भनिन्छ ।
ऋग्वेद
ऋक् को अर्थ हुन्छ, स्थिति एवं ज्ञान । यसमा भौगोलिक स्थिति एवं देवताहरूलाई आवाहन गर्ने मन्त्रहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति एवं देवलोकमा उनीहरूको स्थिति वर्णन गरिएको छ । यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा एवं हवनद्वारा चिकित्साका विषयमा जानकारी पाइन्छ ।
यजुर्वेद
यजु को अर्थ हुन्छ, गतिशील आकाश एवं कर्म । यजुर्वेदमा विभिन्न यज्ञ विधि एवं यज्ञहरूमा प्रयोग गरिने मन्त्रहरू छन् । यसमा तत्वज्ञान अर्थात् रहस्यमयी ज्ञानको वर्णन पनि पाइन्छ । जसअन्तर्गत ब्रह्माण्ड, आत्मा, ईश्वर एवं पदार्थको ज्ञान पर्दछन् । यो वेदका दुई शाखा शुक्ल यजुर्वेद एवं कृष्ण यजुर्वेद छन् ।
सामवेद
साम को अर्थ हुन्छ, रूपान्तरण एवं संगीत । यो वेदमा ऋग्वेदकै ऋचाहरूको संगीतमय रूप पाइनछ । यसमा सविता, अग्नि, इन्द्र आदि देवताको उल्लेख पाइन्छ । यसमा शास्त्रीय संगीत एवं नृत्यको उल्लेख गरिएको छ । यो वेदलाई संगीत शास्त्रको मूल स्रोत मानिन्छ । यसमा संगीतको विज्ञान तथा मनोविज्ञानको वर्णन पनि पाइन्छ ।
अथर्ववेद
थर्वको अर्थ कम्पन हो भने अथर्व को अर्थ हुन्छ( अकम्पन । या वेदमा रहस्यमयी विद्या, जडिबुटी, जादू तथा चमत्कार, आयुर्वेद आदिको उल्लेख पाइन्छ । यसमा भारतवषर्ीय परम्परा एवं ज्योतिषीय ज्ञान समेत पाइन्छ ।
उपनिषद् के हो ?
उपनिषद् वेदको सार अर्थात् निचोड हो । उपनिषद् भारतवर्षीय आध्यात्मिक चिन्तनको मूल आधार हो । आध्यात्मिक दर्शनको स्रोत हो । ईश्वर छ कि छैन, आत्मा छ कि छैन, ब्रह्माण्ड कस्तो छ आदि सम्पूर्ण गम्भीर विषय, तत्व ज्ञान, योग, ध्यान, समाधि तथा मोक्षको कुरा उपनिषद्मै पाइन्छ । उपनिषद्को अध्ययन गर्नु प्रत्येक हिन्दूको कर्तव्य हो । उपनिषद्को अध्ययन गर्नाले ईश्वर, आत्मा, मोक्ष एवं जगतका विषयमा वास्तविक ज्ञान प्राप्त हुन्छ ।
उपनिषद्लाई वेदान्त पनि भनिन्छ । वेदान्तको अर्थ हुन्छ( वेदको अन्तिम भाग । उपनिषद्मा तत्वज्ञानको चर्चा छ । उपनिषद्को संख्या १०८ वटा भए पनि १२ वटालाई मुख्य मानिएको छ । ती हुन्, ईशावास्योपनिषद्, केनोपनिषद्, कठोपनिषद्, प्रश्नोपनिषद्, मुण्डकोपनिषद्, माण्डूक्योपनिषद्, तैत्तिरियोपनिषद्, ऐतरेयोपनिषद्, छान्दोग्योपनिषद्, बृहदारण्यकोपनिषद्, कौषीतकि उपनिषद् तथा श्वेताश्वेतरोपनिषद् ।
षड्दर्शन के हो ?
षड्दर्शन वेदबाटै निक्लिएको हो । वेद तथा उपनिषद्हरूको अध्ययन गरेर त्यसकै आधारमा ६ जना ऋषिहरूले ६ वटा मौलिक दर्शन निर्माण गरे जुन षड्दर्शनका रूपले चिनिन्छ । षड्दर्शन हुन्( न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त । वेदका अनुसार सत्य अर्थात् ईश्वरलाई कुनै एउटा माध्यमबाट मात्र जान्न सकिँदैन । यसैकारण वेदले थुप्रै मार्ग तथा माध्यमको चर्चा गरेको पाइन्छ ।
गीतामा के छ ?
महाभारतको १८ पर्वमध्ये एक भीष्मपर्वको हिस्सा हो गीता । गीतामा पनि जम्मा १८ अध्याय नै छ । यसमा जम्मा श्लोकसंख्या ७०० छ । श्रीकृष्णले वेद तथा वेदान्तको ज्ञानलाई नयाँ तरिकाले व्यवस्थित गरेका छन् जुन गीता हो । यसकारण वेदको सर्वमान्य अर्थात् सार संस्करण हो गीता । जोसँग वेद तथा उपनिषद्को अध्ययन गर्ने समय छैन उनीहरू गीता पढेर मात्रै पनि हिन्दू धर्मको मूल मर्म बुभ्न सक्छन् । गीतालाई बारम्बार मनोयोगपूर्वक अध्ययन गर्नाले त्यसको वास्तविक ज्ञान खुल्न थाल्दछ ।
गीतामा भक्ति, ज्ञान तथा कर्म मार्गको चर्चा गरिएको छ । यसमा यम, नियम एवं धर्मकर्मका विषयमा पनि बताइएको छ । गीताले भन्दछ( ब्रह्म ईश्वर एउटै मात्र छ । गीता त्यस्तो ग्रन्थ हो जसको प्रत्येक शब्दमाथि फरक फरक ग्रन्थ लेख्न सकिन्छ ।
गीतामा प्रकृति, सृष्टि, जीव विकास क्रम, हिन्दू सन्देशवाहक क्रम, मानव उत्पत्ति, योग, धर्म, कर्म, ईश्वर, भगवान्, देवी(देवता, उपासना, प्रार्थना, यम, नियम, राजनीति, युद्ध, मोक्ष, अन्तरिक्ष, आकाश, धर्ती, संस्कार, वंश, कुल, नीति, अर्थ, पूर्वजन्म, जीवन व्यवस्थापन, राष्ट्र निर्माण, आत्मा, कर्मसिद्धान्त, त्रिगुणको कल्पना, सम्पूर्ण प्राणीप्रति मैत्रीभाव आदि कुराको जानकारी पाइन्छ ।
गीता योगेश्वर श्रीकृष्णको वाणी हो । यसको प्रत्येक श्लोकमा ज्ञानरूपी प्रकाश छ, जुन प्रस्फुटित भएसँगै अज्ञानरूपी अन्धकार नष्ट हुन्छ । गीताले निर्दिष्ट गरेको मार्ग अनुसरण गर्ने व्यक्ति निश्चय पनि परमपदको अधिकारी हुन्छ ।