१९ अर्व ६० करोड विदेशी ऋण थप्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। नेपाल सरकारले १९ अर्व ६० करोडको थप विदेशी ऋण लिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले कृषि क्षेत्रका लागि ११ अर्व ६० करोड र पर्यटन क्षेत्रका लागि ८ अर्व रुपैयाँ बराबरको विदेशी ऋण लिनका लागि वार्ता टोली गठन गरी ऋण लिने अघिकारसमेत दिएको छ।
मन्त्रिपरिषद स्रोतका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा इन्टरनेशनल फण्ड फर एग्रिकल्चरल डेभलपमेण्ट (आईएफएडी) सँग ११ अर्व ६० करोड रुपैयाँ ऋण दिन वार्ता टोली गठन गरी अधिकार दिइएको छ। कृषि क्षेत्रमा ऋण र सहायता प्रदान गर्दैै आएको आईएफएडीए संयुक्त राष्ट्रसंघसँग अवद्ध वित्तीय संस्था हो।
त्यसैगरी विश्व बैंकसँग पर्यटन क्षेत्रका लागि ८ अर्व रुपैयाँ ऋण लिने निर्णय गर्दै यसका लागि पनि अर्थ मन्त्रालयको वार्ता टोली बनाई सबै अधिकार दिइएको छ।
मन्त्रिपरिषद्ले पारित गरेको प्रस्तावअनुसार, पर्यटन क्षेत्रको सो ऋण ‘नेपालका संरक्षित क्षेत्रहरुमा दिगो पर्यटन अभिवृद्धि (एसटीईएनपीए) कार्यक्रमका लागि लिन लागिएको हो। यसअन्तर्गत पहिलो चरणमा पाँचवटा संरक्षित क्षेत्र तय गरी गन्तब्य विकास तथा एकीकृत पर्यटन विकास गरिने छ।