कोरोना महामारी २ वर्षभन्दा कम समयमै नियन्त्रण हुनसक्ने डब्लूएचओ प्रेस जानकारी
2.1K
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताएका हुन् ।
महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको बताए ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभर ७ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २६ लाख नाघेको छ ।