भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णय
काठमाडौँ – सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो ।मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भदौ १६ गतेदेखि शर्तसहित निश्चित आधारमा नियमित उडान शुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो । त्यस प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जिम्मेबारी दिइएको छ । मन्त्रालयले निश्चित आधारमा उडान तालिका तयार गर्नेछ । प्रवक्ता डा खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउनेगरी नियमति उडान गरिनेछ ।