घरमै आइसोलेसन बसेका कोरोना संक्रमितको मृत्यु, पाटन अस्पतालमा उपचाररत थप दुई जनाको पनि मृत्यु
2K
विराटनगर महानगरपालिका ६ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए ।
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको हो ।
पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको र ती पुरुषलाई कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको अस्पतालले जनाएको छ ।