नेपालको झण्डा जलाएर भिडियो बनाउने बिरुद्ध प्रहरी कारवाही अघि बढ्यो, एक जना पक्राउ
काठमाडौं । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत भदौ १ गते सार्वजनिक गरिएको नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीतको बिरुद्ध महानगरीय प्रहरी अपराध महाशाखाले कारवाही अगाडी बढाएको छ । नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरूले भरिएको गीत तयार गर्ने र भिडियो बनाउनेलाई कानुनी दायरामा ल्याउन महानगरीय प्रहरी अपराध महाशाखा तीव्र रूपमा लागेको हो । गीतलाई प्रतिबन्धित गरी त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो ।
हालसम्म भिडियो बनाउने समूहका क्यामराम्यान इराक लिम्बू भने पक्राउ परिसकेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । यसैबीच, सामाजिक सञ्जालमा सो भिडियो शेयर नगर्न पनि महानगरीय प्रहरी अपराध महाशाखाले आग्रह गरेको छ । जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य स्वीकार्य हुँदैन । यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भैसकेको छ । सामाजिक सद्भावमा आँच पुग्ने सो भिडियो अरू कसैले आफ्नो युट्युब च्यानल तथा फेसबुकलगायत समाजिक सञ्जालमा पोस्ट नगर्न महाशाखा प्रमुख एसएसपी थापाले आग्रह गरेका छन् ।
मुलुकी अपराध संहिताको दफा १५१ मा ‘राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने’ उल्लेख गरिएको छ ।