नागरिक पोष्ट News


पहिरोको कारण राजमार्ग अवरुद्ध

2.2K

सिन्धुपाल्चोक, ३२ साउन । पहिरोले अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहक कन्टेनर रोकिएका छन् भने आयात निर्यात समेत ठप्प भएको छ । असार अन्तिम साता बाह्रबिसे नगरपालिकाको जम्बु, भोटेकोशी गाउँपालिकाको बुल्कोटमा पहिरो गएको एक साता पछि सुचारु गरिएको सडकमार्ग शनिबार राति र आइतबार बिहान परेको अविरल वर्षाको कारण पुनः अवरुद्ध भएको हो । बाह्रबिसे–तातोपानी सडकखण्डको १० भन्दा बढी स्थानमा सडक पहिरोले पुरेको भोटेकोशी गाउँपालिका–३ का स्थानीय चेङा शेर्पाले बताए । सडक अवरुद्ध भएका कारण व्यापारिक तथा औषधीजन्य सामग्रीका बोकेका मालवाहक सुक्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले बताएको छ । पटक पटकको बाढीपहिरो बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले जानकारी दिए । ‘डाक्लाङ क्षेत्रमा ३ सय मिटर सडक पहिरोले बगाएको छ’, महतोले भने, ‘हामीले उपकरणहरु लगाएर बाटो सफा गर्ने काम गरिरहेका छौं । तर पहिरो झरिरहेकोले सडक सुचारु हुने अवस्था छैन ।’ दैनिक एस्काभेटरलगायतको उपकरणले पहिरोले पन्छाउने गरिएको भएपनि सो क्षेत्रमा पहिरो रोक्न नसकिएको उनको भनाइ छ । बाटो अबरुद्ध हुँदा कोभिड– १९ संक्रमण रोकथामको लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोग स्वरुप हस्तान्तरण गरिएका औषधिजन्य सामग्री समेत भन्सारमै रोकिएको छ । ‘बाटो सुचारु हुन नसकेका कारण हामीले चीनले सहयोग गरेका औषधीहरु समेत पठाउन सकेका छौनौं’, भन्सार अधिकृत गणेशप्रसाद पौडेलले भने । सीमा क्षेत्रमा बस्ने अवस्था नभएपछि मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि गइसकेको पौडेलले जानकारी दिए । सडक अवरुद्ध भएपछि सयौँ मालबाहक कन्टेनर केरुङ हँुदै रसुवागढी नाका भएर ल्यानुपर्दा ढुवानी भाडा बढी पर्नुका साथै भन्सार जाँचपासमा ढिलाइका कारण व्यापारी मर्कामा परेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले बताए । ‘तातोपानीको बाटो पहिरोका कारण जहिल्यै अबरुद्ध हुन्छ’, सापकोटाले भने, ‘रसुवाबाट सामान ल्याउँदा ढुवानी महंगो हुन जान्छ ।’ तातोपानी सडकलाई स्थायी बनाउन सरकारले पहल नगर्दा व्यापारीहरु मर्कामा परेको उनले बताए ।

Must View