नागरिक पोष्ट News


देशभर पहिरोमा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता, सिन्धुपाल्चोकमा मात्र १० र कालीकोटमा ६ जनाको मृत्यु

1.6K

काठमाडौँ ।  मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । 

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए । बेपत्ता भएकाको खोजी जारी छ । 

स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन ।

कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा शुक्रबार एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।

Must View