कोरोनालाई हेलचेक्र्याइँ नगरौँ आत्मघाती हुनसक्छः स्वास्थ्य मन्त्रालय, सावधानी अपनाउन अपील !
काठमाडौँ, १७ साउन । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको हो ।
स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ । यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रूपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।
पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताउनुभयो ।
राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ । यसले समेत थप जोखिम बढाएको छ । सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन् । त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी गरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गर्नुभयो ।
कोभिड–१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उहाँले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न आग्रह गर्नुभयो । प्रवक्ता गौतमले अनावश्यक भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन, अनिवार्यरूपमा मास्क लगाउन, साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन स्मरण गराउनुभयो ।
राजधानी काठमाडौँ प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ । विशेषगरी भक्तपुरको नाका भएर काठमाडौँ प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।