नेपालमा एकैदिनमा कोरोनाबाट ४ जनाको मृत्यु, वीरगन्जका तीन जना र ललितपुरको एक महिलाको कोरोनाले निधन भएको पुष्टि
काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसंगै नेपालमा शुक्रवार एकै दिन कोरोनाका कारण ४ जनाको निधन भएको पुष्टि भएको छ । एकै दिन यति धेरै मानिसको निधन भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले निधन भएको पुष्टि भएको हो ।
पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान ९ निधन भएको मन्त्रालयले जानकारी दिएको हो । उनी गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।
यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको निधन भएको हो । पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार निधन भएको हो ।
वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा निधन भएको हो । योसंगै वीरगन्जमा मात्रै कोरोनाका कारण निधन हुनेको सख्या १३ पुगेको छ ।