नागरिक पोष्ट News


काठमाडौंमै जोखिम ह्वात्तै बढ्यो

2K

देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन ।

महावौद्धको संक्रमित परिवारकी एक महिला सदस्य १७/१८ दिन पहिले भारतको सीतामढीबाट आएको पाइएको छ । उपत्यका बाहिरबाट आउन सम्बन्धित वडा वा स्थानीय तहको सिफारिस चाहिन्छ । तर, भारतबाट उनी कसरी आइन् ? कसैलाई थाहा छैन । नाकाहरुमा कतै रेकर्ड पनि छैन । काठमाडौं आएपछि उनी परिवारसँगै बसिन् । र, पाँचैजना संक्रमित भए ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखाका फोकल पर्सन ज्ञानु ओलीका अनुसार वडा नम्बर २७ मै पर्ने ज्याठामा अर्का एक जनामा पनि संक्रमण देखिएको छ । त्यसैले दुबै ठाउँको गरी मंगलबार ३०० नमूना संकलन गरिएको छ ।

 नेपाल प्रहरीको हेडक्वार्टर, नक्सालमा कार्यरत २३ जनामा कोरोना संक्रमण पुष्टि भयो । आइतबार मात्र प्रहरी हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुकै सम्पर्कमा आएकाहरुको खोजी गर्दा थप २३ जनामा संक्रमण देखिएको हो । तर, यति ठूलो संख्यामा प्रहरी कसरी संक्रमित भए भन्ने पत्ता लागिसकेको छैन ।

व्यापारीहरुको भीडभाड हुने महावौद्ध र सुरक्षाकर्मीहरुको संगठित गतिविधि हुने प्रहरी हेडक्वार्टरका यी दुईवटै घटनाले काठमाडौं उपत्यका थप जोखिममा परेको संकेत मिलेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । विज्ञहरुले मात्र होइन, समान्य मानिसले हेर्दा पनि काठमाडौंमा कोरोना फैलन थालेको यी घटनाबाट प्रष्टै देखिन्छ ।

Must View