कोरोनाको संक्रमण समुदायतिर, काठमाडौं उपत्यकामै एकै दिन ५३ जना संक्रमित भेटिए : थप एकको मृत्यु
थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डोटीका ५८ जना, कपिलवस्तुका ३४, स्याङ्जा र कैलालीका १८/१८ जना, मोरङका १७, अछामका १६, सप्तरीका १५, पर्साका १४, धनुषाका ९, महोत्तरीका ८, नवलपुर र दाङका ६/६ जना, बाराका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुर र सिन्धुपाल्चोकमा ४/४ जना, झापा, बाँके, बझाङ, लमजुङका ३/३, रुपन्देही, कास्की र सुर्खेतमा २/२ जना तथा इलाम, रौतहट, सर्लाही, नवलपरासी, नुवाकोट, रामेछाप, भक्तपुर, मकवानपुर, ओखलढुंगा, गोरखा, दैलेख, दार्चुला र कञ्चनपुरमा एक/एक जना संक्रमण थपिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ । उनीहरुमध्ये १३ हजार ८७५ निको भएका छन् भने ४९ जनाको मृत्यु भएको छ ।
थप एकको मृत्यु
यस्तै कोरोना भाइरसको संक्रमणबाट थप मृत्यु भएको छ । शुक्रबार मृत्यु भएका बझाङको बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।