कर्मचारीमा कोरोना भएपछि आन्तरिक राजश्व कार्यालय नै बन्द, कर्मचारीहरु क्वारेन्टिनमा
नेपालगन्ज । कर्मचारीलाई कोरोना पुष्टि भएपछि नेपालगन्ज स्थित आन्तरिक राजश्व कार्यालय बन्द गरिएको छ । कार्यालयले आइतवार एक सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी गराएको छ । कार्यालयले कर्मचारीमा कोरोना देखिएको र अन्य सबै कर्मचारीको पनि पिसिआर परिक्षण गर्नुपर्ने र क्वारेन्टिनमा राख्नुपर्ने भएकाले कार्यालयको काम बन्द गरिएको सुचना मार्फत जनाएको छ । सरकारले चैत ११ देखि लागू गरेको लकडाउन अन्त्य गर्ने निर्णय गरेसंगै सर्वसाधारणको चलह पहल बढेको छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टाइन गरिएको छ । राजश्व कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण सुरु गरिएकाले आइतबार कार्यालय सम्पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।
नेपालगन्जको त्रिभुवन चोकमा गरिएको र्यान्डम सेम्पलिङमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य कार्यालय बाँकेले त्रिभुवन चोकबाट गरिएको स्वाब संकलनमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ । जसमध्ये १ जना आन्तरिक राजश्व कार्यालयका कर्मचारी, त्रिभुवन चोकका मिठाई पसले र कामको खोजीमा नेपालगन्ज आएकी युवती रहेका छन् ।