नागरिक पोष्ट News


पुनः मौसम सक्रिय हुने, जोखिमको चेतावनी ! पहिरो तथा नदीमा एक्कासी बाढी बढ्ने, सतर्कता अपनाउनुपर्ने छ

1.8K

काठमाडौं । आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोदिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ । विगतको घटनासमेतलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्वविदको भनाइ छ । भूगर्वविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए ।

Must View