नागरिक पोष्ट News


राज्यमन्त्री रामवीरको सक्रियता : ६ महिनामै ३ हजार क्षमताको सम्मेलन केन्द्रको काम ६१ प्रतिशत पूरा

2.3K

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामहरुको नतिजा जनताले देख्ने र महसुस गर्नेगरी देखिने बेला भएको बताएका छन्। सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन, भैसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तिन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकन पश्चात् मन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताएका हुन् ।

मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपालको मर्म अनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गरे । मन्त्री मानन्धरले वर्तमान सरकारकै पालामा नेपालमा इतिहासकै सबैभन्दा ठुलो भवनका रुपमा संसद भवन बन्न लागेको बताउँदै समयमै काम सकिने दाबी गरे । मन्त्री मानन्धरले सरकारले गरेका कामको परिणाम देखिन थालेको बताउँदै आगामी वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी बिकासको वर्ष हुने बताए ।

मन्त्री मानन्धरले देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनहरुको डिजाइन भएको बताउँदै यी संरचना निर्माण पश्चात् अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको प्रशंसा हुने बताए ।

मन्त्री मानन्धरले संघीय संसद भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा मन्त्री र मुख्यमन्त्री निवास निर्माणको कामलाई तिब्रता दिन निर्देशन समेत दिएका छन् । कोरोनाका कारण काममा केहि अवरोध देखिएको बताउँदै मन्त्री मानन्धरले अब काम निरन्तर हुने बताए । सरकारले इतिहासमै हुन नसकेका काम गरिरहेकव बताउँदै यो अभियानमा सहभागिता जनाएका निर्माण कम्पनीहरुले पनि उत्साहपुर्ण ढंगले काम गरिरहेको बताए ।

प्रधानमन्त्री ‌ओलीको नेतृत्वमा वर्तमान नेकपाको सरकार समृद्धिको यात्रामा लागिरहेको बताउँदै जनताको चाहना अनुसार नै विकास निर्माणका काम भइरहेको बताए । मन्त्री मानन्धरले राष्ट्रियताका सवालमा वर्तमान सरकारको अडान र विकास निर्माणका क्षेत्रमा दिएको तिब्रता इतिहासकै उत्कृष्ठ भएको बताए ।

मन्त्री मानन्धरले सरकारले परिकल्पना गरेको समृद्ध नेपाल निर्माणको अभियानमा आम नेपालीले साथ दिएको बताउँदै अब तिब्र गतिमा काम हुने बताए । यस अघिका सरकारले ढिलासुस्ति र अपारदर्शी ढंगले काम गर्दा जनता निराश भएको बताउँदै वर्तमान सरकार जनताको आशाको प्रतिक भएको पनि बताए ।

अनुगमनका क्रममा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सहरी विकास मन्त्रालयले निर्माण थालेका ठुला भवनहरु समयमै सकिने बताए । सचिव अधिकारीले सरकारले परिणाम देखिनेगरी काम गरिरहेको बताउँदै तीन वटै भवन निर्माण तोकिएकै समयमा सकिने दाबी गरे ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संघीय संसद भवनको बेस निर्माणको काम अन्तिम चरणमा रहेको बताउँदै उत्कृष्ठ इन्जिनियरिङसहित निर्माण हुने बताए ।

६ महिनामा ६१ प्रतिशत प्रगती

अनुगमनका क्रममा गोदावरीमा निर्माणाधिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाईएको छ । ६ महिनाको अवधिमा ६१ प्रतिशत काम सकिएको बताउँदै मन्त्री मानन्धरले अब बाँकी कामलाई तिब्रता दिइने बताए । ४३ रोपनी क्षेत्रफलमा निर्माणाधिन तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र ५८ करोड लागतमा निर्माण भइरहेको छ । उक्त केन्द्र निर्माण पश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनका लागि ठुला होटलहरुमा लाखौं खर्च गर्नुपर्ने बाध्यता हट्ने छ ।

संसद भवन निर्माण ७ प्रतिशत

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधिन संसद भवनको भौतिक प्रगति ७ प्रतिशत रहेको छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाई भएको महानिर्देशक गेलालाले जानकारी दिए । १७३ रोपनी क्षेत्रफलमा निर्माणाधिन संसद भवन निर्माणको लागत ६ अर्ब ९२ करोड रहेको छ । गत वर्ष असज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ ।

ललितपुरको सैबु भैसेपाटीमा निर्माणाधिन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ । मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदै छ । ती भवनहरुको निर्माणमा पनि तिब्रता दिन मन्त्री मानन्धरले निर्देशन दिए ।

पारदर्शी ढंगले काम सम्पन्न हुनुपर्ने बताउँदै मन्त्री मानन्धरले सरकारको योजना अनुसार काम सम्पन्न गर्न निर्माण कम्पनिलाई आग्रह गरे । फिल्डमा समस्या भए तत्काल सरोकारवाला निकारयमार्फत् खबर गर्न आग्रह गर्दै मन्त्री मानन्धरले समस्या समाधानका लागि सधैं तयार रहेको बताए ।

सरकारले लिएको लक्ष्यबाट दायाँ बायाँ हुने छुट कसैलाई नभएको बताउँदै आयोजना सम्पन्न गर्न आवश्यक बजेटसहित सबै प्रवन्ध भइसकेको मन्त्री मानन्धरको दाबि छ ।

-Source : Logo

Must View