मौज्दात घटेपछि खाद्य व्यवस्थाले गर्यो चौथोपटक बोलपत्र, १० हजार मेटन चामल खरिद गरिँदै
काठमाडौं, ८ साउन । मौज्दात घट्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार मेट्रिकटन (मेटन) चामल खरिद गर्ने भएको छ । यसअघि कम्पनीले चामल आपूर्तिका लागि चैतदेखि तीनपटकसम्म टेन्डर आह्वान गरे पनि कुनै कम्पनीले आवेदन दिएका थिएनन् । चौथोपटक आह्वान गरिएको टेन्डरमा विभिन्न ६ ओटा कम्पनीले चामल खरीदका लागि बोल पेश गरेका छन् । सम्बन्धित कम्पनीले १५ दिनभित्र सम्झौता गर्न आउन भनिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेको भनाइ छ । सम्झौता बमोजिम चामल खरिद गर्ने कम्पनीहरूले २ महीना समय पाउनेछन् । देशमा आइपर्ने प्राकृतिक महामारी लगायत समस्याका लागि सरकारी कम्पनीले करिब ३३ हजार मेट्रिकटन चामल अनिवार्य रूपमा मौज्दात राख्नुपर्ने प्रावधान छ । तर सो कम्पनीको मौज्दात घट्दै गएको छ । हाल कम्पनीसँग धान, चामल र गहुँ सहित करीब १४ हजार मेट्रिकटन, कर्णालीको सिमी ४ सय ७० क्विन्टल, केराउ ५० क्विन्टल, मुसुरोको दाल १० क्विन्टल, रहर दाल ४० क्विन्टल र घिउ ६ सय ३ लिटर मौज्दात रहेको बताइएको छ । कोरोना संक्रमणका कारण कम्पनीको खरिदकार्यमा समस्या भएको र अघिल्ला वर्षहरूको तुलनामा विक्री बढेकाले पनि मौज्दात घटेको कम्पनीको भनाइ छ । गत आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीबाट २ लाख ६२ हजार क्विन्टल खाद्यान्न विक्री भएको छ ।