लकडाउन हट्यो, अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहनेः यी हुन् मन्त्रीपरिषदका निर्णहरु
काठमाडौँ, ६ साउन । नेपालमा आज मध्यरातिबाट लागु हुनेगरि लकडाउन हटेको छ । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य गरेको हो । सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो ।
सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, अब लकडाउन जारी छ भन्न पर्दैन, त्यसको अन्त्य भएको छ । यो सँगै खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको छ । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।
सरकारले भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि गरेको छ । बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् । अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।
यस्तै लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय पनि सन्चालनमा आउने भएका छन् । सरकारले साउन १५ गतेबाट होटल खोल्ने जनाएको छ । तर सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । सरकारको यो निर्णय अनुसार अब होटलमा भोज र पार्टी गर्न भने पाइने छैन ।
त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो ।
सँगै सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपालमा कोरोना भाइरसका कारण पाँच महिनाको अवधिमा ४० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने १७ हजार ९ सय ५४ पुगेको छ । संक्रमितमध्ये १२ हजार चार सय ७७ निको भएका छन् । मंगलबार मात्र १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।