५० प्रतिशतभन्दा बढी यात्रु राखेर चलाए कारबाही गर्छौँँ- ट्राफिक प्रहरी
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५० प्रतिशतभन्दा बढी यात्रु राखेर सवारी चलाएमा कारबाही हुने जनाएको छ। सामाजिक दुरी कायम गरेर बसको सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्नुपर्ने ट्राफिक महाशाखाको भनाई छ।
सरकारले कोरोना भाइरसको महामारीका बेला साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने सुविधा यातायात व्यवशायीलाई दिएको छ। सरकारले मंगलबार रातीदेखि औपचारिकरुपमा लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसको महामारी भने कम भएको छैन।
खोलिएका क्षेत्रमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्ने सरकारको निर्देशन छ। महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गर्नेमाथी कारबाही पनि थालेको छ।
लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउने जस्ता ट्राफिक नियम उल्लङ्न गर्नेलाई कारबाही थालिएको महाशाखा प्रवक्ता बामदेव गौतमले जानकारी दिए। महाशाखाका अनुसार बुधबार उपत्यकामा २ सय ६३ जना सवारी चालकलाई कारबाही गरिएको छ।
साउन ७, २०७७ मा प्रकाशित