नागरिक पोष्ट News


कोरोना अपडेटः संक्रमित १८ हजार ९४, निधन ४२, डिस्चार्ज १२ हजार ६८४

1.3K

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरे।

प्रवक्ता डा. गौतमका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६० वर्षीय पुरुषको मंगलबार (साउन ६ गते) निधन भएको हो। खोकी, उच्च ज्वराे र स्वासप्रश्वासमा समस्या आएपछि उनी साउन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए। सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए।

यस्तै पोखरामा काम गर्दै आएकी एक ४९ वर्षिया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनकाे बुधबार निधन भएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

यस्तै बुधबार नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ।

प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २०७ जना काेराेन संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयाेगशालामा ३ हजार ७ सय ७९ जनाकाे पीसीआर परीक्षण गरिएको छ।

यस्तै हालसम्म देशभर २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन्। अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेकाे मन्त्रालयले जनाएको छ।

साउन ७, २०७७ मा प्रकाशित

Must View