नागरिक पोष्ट News


साउन ८ गतेदेखि सार्वजनिक यातायात चल्ने, व्यवसायीहरु सहमत

1.7K

२०७७ सोमबार, ०५ साउन

काठमाडौं । साउन ८ गतेदेखि व्यवस्थित रुपमा सार्वजनिक यातायात चल्ने भएको छ । लकडाउनयता बन्द भएका सार्वजनिक यातायात सरकारले निर्णय गरे बमोजिम व्यवस्थित रुपमा चलाउन लागिएको हो । यातायात व्यवसायीबाट सरकारले भने अनुसार स्वास्थ्य सम्बन्धी सबै शर्तहरू पुरा गरेर सार्वजनिक यातायातहरू सञ्चालन गर्न दिने सहमति गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

सार्वजनिक यातायात सञ्चालनका लागि मजदुरहरुको कोरोना बीमा गर्ने भएको छ । त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने व्यवसायी र यातायात मजदुरबीच सहमति भएको छ । साथै यातायात सञ्चालका क्रममा कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ ।

यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर, पन्जा, पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ । 

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो । सरकारको निर्णय अनुसार सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै सञ्चालन हुने छन् ।

Must View