नागरिक पोष्ट News


त्रिविका परीक्षा भदौ दोस्रो साताबाट : अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख

1.9K

 रुटिन  जानकारीसहित

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १–२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिने बताए । रेक्टर शिवलाल भुसालले सरकारले ल्याउने लकडाउनको ढाँचाअनुसार परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगले अनलाइनसहितका वैकल्पिक विधि प्रयोग गरेर पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सुझाएको थियो । आयोगले कोरोना महामारीले उच्चशिक्षामा पुर्‍याएको क्षति न्यूनिकरणका लागि छाता निर्देशिका समेत जारी गरेको छ । चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गतिविधि ठप्प छ । ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्यापन थालेका छन् । महामारीका बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गरिएको आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिए ।

निर्देशिकामा प्रचलित विधिबाट पनि परीक्षा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने उल्लेख छ । उक्त विधिबाट सम्भव नभए उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र ९होम सेन्टर० तोकेर पनि परीक्षा सञ्चालन गर्न सकिनेछ । ‘शिक्षण संस्था बन्द भएपछि विद्यार्थी मेची, महाकाली पुगेका छन्, त्यहाँ पनि क्याम्पस छन् ।, उनले भने , ‘विश्वविद्यालयले आफ्नो अनुकुल त्यहाँ पनि परीक्षा सञ्चालन गर्न सक्छ ।’ परीक्षाको तयारी, परीक्षार्थीको आवासीय अवस्था, स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्छ ।

समयसीमा तोकेर खुल्ला पुस्तक, गृहकार्य, कक्षाकार्य, प्रस्तुतीकरण, अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख छ । विद्यार्थीले घरबाटै उत्तर लेख्ने विकल्प समेत दिन सकिने व्यवस्था गरिएको हो । वैकिल्पक प्रकृतिका परीक्षा सञ्चालन गर्दा विश्वविद्यायको आधिकारिक निकायको पूर्वस्वीकृति भने लिएको हुनुपर्नेछ । ‘परीक्षा सञ्चालन गर्न सम्भव नभएमा पछिल्लो सेमेष्टर वा वर्षको पठनपाठन सुचारु गरि परिस्थिति सहज भएपछि अघिल्लो सेमेष्टरको परीक्षा सञ्चालन गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ । विद्यार्थीलाई पछि परीक्षा लिने गरि सेमेष्टर प्रणाली वा वर्षमा स्तरोन्नति गर्न सकिने बाटो खुलेको हो ।

प्रयोगात्मक विषयका लागि भर्चुअल र घरमा आधारित प्रयोगशालाको प्रयोगबाट पनि परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो । स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका मौखिक परीक्षाहरु अनलाइनबाटै सञ्चालन गर्न सकिने भएको छ । त्यस्ता परीक्षाको अभिलेख भने सुरक्षित राख्नुपर्नेछ । शोधग्रन्थ (थेसिस) बुझाउन म्याद गुज्रेका वा गुज्रने अवस्थामा रहेका विद्यार्थीका लागि ६ महिनाको अवधी सम्बन्धित विश्वविद्यालयले थप गर्न सक्ने व्यवस्था गरिएको हो ।

 

Must View