कर्णालीमा ठूलो समूहमा सलह पस्यो, बाली जोगाउन किसानलाई सास्ती
सुर्खेत । कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएको छ । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएको हो ।
बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत याम रानाले जानकारी दिए ।
वीरेन्द्रनगरको सुब्बाकुना हुँदै देखिएको सलह पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा पसेको छ । ठूलो संख्यामा सलह पसेपछि कृषकहरु थाल बजाउँदै, आगो बाल्दै खेतबारीमा पुगेका छन् ।
कृषि मन्त्रालयका अनुसार कर्णाली प्रदेशका नौं जिल्लामा सलह देखिएको छ । प्रदेशका १० जिल्लामध्ये मुगुमा हालसम्म नदेखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितका अनुसार दाङ हुँदै सलह कर्णालीका विभिन्न जिल्ला पसेको हो ।
ठूलो संख्यामा प्रवेश गरेको सलह किराले वीरेन्द्रनगरको पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा बाली खान थालेको छ ।
सलह किराले मकै, धानको बिउ र तरकारी नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् । सलह बारीमा पसेपछि बाली बचाउन हम्मेहम्मे परेको वीरेन्द्रनगर-१२ नेवारेका सन्त सारुले बताए ।