नागरिक पोष्ट News


तारकेश्वरमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढि कर संकलन गर्ने १० नं. वडाको करदातालाई नगर उपप्रमुखबाट सम्मान

1K
तारकेश्वर नगरपालिकाभित्र आज ११ ओटै वडाहरुमा सबैभन्दा पहिला आउने करदातालाई सम्मान गरिएको छ ।

 

१ साउन, काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र सबैभन्दा धेरै कर संकलन गर्नेमा १० नं. वडा रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा तारकेश्वर १० ले १ करोड ५७ हजार कर संकलन गरेको थियो । तारकेश्वर नगरपालिकाले यसपटकदेखि आर्थिक वर्षको सुरुमै आई कर बुझाउनेलाई १० प्रतिशत छुटसहित माला र अविर लगाएर नगरपालिका भित्रका ११ ओटा वडामै सम्मान कार्यक्रम राखिएको तारकेश्वर नगरपालिकाको राजश्व शाखाका कर्मचारी ईश्वर अम्गाईले बताउनुभयो ।

करदाता सम्मान कार्यक्रमका लागि तारकेश्वर नगरपालिकाको उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी, प्रशासन प्रमुख अधिकृत तिर्थराज थापा मगर, राजश्व शाखाका कर्मचारी ईश्वर अम्गाई र सूचना प्रविधि अधिकृत नरहरि गौतमको उपस्थिति रहेको थियो । तारकेश्वर १० का पहिलो करदाता भुवनेश्वर देवकोटालाई नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष अमृत थापाबाट सम्मान गरिएको कुरा तानपा-१० का सचिव बेदनाथ सुबेदीले बताउनुभयो ।

सम्मान कार्यक्रमपछि बोल्दै नगर उपप्रमुख भवानी डोटेल धितालले तारकेश्वर नगरपालिकाभित्र आर्थिक वर्ष २०७६/०७७ को योजनाहरु सत–प्रतिशत सम्पन्न गरेको र लक्ष्यअनुसार कर संकलन गर्न सफल भएकोमा वडा नं. १० लाई धन्यवाद प्रकट गर्नुभयो ।

तारकेश्वर नगरपालिकाले पहिलोपटक कर तिर्नेलाई सबै वडाहरुमा टिका तथा माला र खादा लगाएर सम्मान गरेको छ । यस कार्यबाट कर तिर्न करदाताहरुलाई चाँडै जानुपर्छ भन्ने सकारात्मक सन्देश गएको छ । यसपटक गत वर्ष २०७६/०७७ को कर तिर्न छुटेका करदाताहरुलाई पनि २०७७ कार्तिक मसान्तसम्ममा वक्यौतामा लाग्ने जरिवानामा छुट लगायतका अन्य करमा समेत छुटको व्यवस्था गरिएको छ । समयमै कर तिरी जरिवानाबाट बच्नसमेत नगरपालिकाले नगरबासीलाई आह्वान गरेको छ ।

तारकेश्वर नगरपालिकाले सम्पत्ति कर, व्यावसायकरमा आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कार्तिक मसान्त) भित्र तिर्न आउनेलाई १०% छुट र आ.व. २०७६/०७७ को वक्यौतामा जरिवानामा छुट तथा वार्षिक रुपमा अग्रिम बहालकर तिर्ने करदातालाई समेत १०% छूट लगायतको व्यवस्था गरी सम्पूर्ण करदाताहरुलाई समयमा नै कर तिर्न आह्वान गरेको छ ।

Must View