तारकेश्वर ३ चिसापानी–तिनपिप्ले सडक खण्डमा गुणस्तरीय बाटो ढलान
३० असार, काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर योजनामा तिनपिप्ले–चिसापानी सडक खण्डमा धमाधम बाटो ढलान भइरहेको छ । तारकेश्वर वडा नं. ३ भित्र पर्ने सडक ३५० मिटर ढलानका लागि नगरपालिकाले ४ करोडमा ठेक्का दिएको थियो ।
ढलानसँगै बाटो डिमार्केसन, आरएमसी पद्धतिबाट बाटो ढलान (५०० घनमिटर) र वडा नं. ६ मा ढुंगाको वालहरु निर्माण भएका छन् ।
८ इन्चको ढलानमा ६/६ इन्चको ग्यापमा फलामको डन्डी राखेर आरएमसी पद्धतिबाट बाटो ढलान भइरहेको छ । यस सडकको ठेकेदार नुवाकोटका पुरुषोतम मुढभरीले पाएका छन् भने प्राविधिकहरुमा तारकेश्वर नगरपालिकाबाट वरिष्ठ इन्जिनियर पूर्णकाजी महर्जन, कञ्चन भट्ट र विकास महर्जनले अनुगमन र निरिक्षण गरिरहेका छन् ।
तारकेश्वर नगरपालिकाभित्र यो सडक एउटा मुख्य बाटोको रुपमा परिचित छ । नुवाकोटबाट तारकेश्वर प्रवेश गर्ने मुल सडक नै यहि हो । यो बाटो गुणस्तर भएर ठिकाउ हुन सकेमा धेरै मानिसहरु यस बाटोबाट लाभान्वित हुने देखिन्छ ।