म्याग्दी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या २८, १९ जनाको सामूहिक अन्त्येष्टि
म्याग्दी – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो ।
पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ । पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।
अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो ।
पहिरोमा ज्यान गुमाएकाको सामूहिक अन्त्येष्टिमराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन् । प्राकृतिक विपत्तिले तहसनहस भएको मराङमा पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएको शवलाई अन्त्येष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए ।
मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो ।
सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो ।