नेपालमा कोरोनाबाट ३४ जनाको मृत्यु, २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि
२० असार, काठमाडौं । नेपालमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देही र गोरखाका दुईजनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाका पालुङटारका पुरुषको शनिबार बिहान मृत्यु भएको बताउनुभयो । असार १७ गते कतारबाट फर्किएका उहाँको उपचारको लागि भर्ना गराइएकोमा असार २० गते बिहान मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । त्यसैगरी, रुपन्देही देवदहका एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएकोमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । क्षयरोगका बिरामी ७५ वर्षीय पुरुष उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँमा असार १८ गते कोरोना सङक्रमणको पुष्टि भएको थियो । कोरोना सङ्क्रमित थप दुईजनाको मृत्यु भएसँगै नेपालमा भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।