महिनावरी भएकी सुस्मिताको ससुरा र नन्दले लाठी र ढुंगाले हानी क्रुरतापूर्वक यसरी गरे हत्या, बचाउ भनेर चिच्याईन तर गुहार पाइनन्
एउटा क्रुर र पासविक घटनाको खुलासा भएको छ मकवानपुरमा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
छ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसरी मारिएको थियो सुस्मितालाई असार १ गते राति साढे ९ बजेको समय । महिनावारी भएकाले भान्सामा सुस्मिता भुईमा बसेर खाना खाँदै थिईन् । त्यस अघि नै रक्सीले मातेका ससुरा खाना खाएर सुत्न गएका थिए । तर अचानक भान्सा कोठामा आएर ससुरा प्रकाश थापाले सुष्मिताको टाउकोमा लाठीले हाने । त्यस पछि सुष्मिता भुँईमा लडिन् । अनि भान्सामै रहेकी नन्द सिता थापाले मशला पिस्ने लाहोरोले टाउकोमै थप हानिन् । प्रहरी प्रतिवेदनमा भनिएको छ, त्यस पछि सुष्मिताले बचाउ बचाउ भन्दै चिच्याईन् । त्यस पछि सुस्मिताकी सासु तुलसा भान्सामा छिरिन् । मातेका ससुरा र नन्दले घिसारेर सुस्मितालाई बाहिर निकाले र निरन्तर पिटिरहे । त्यस पछि सुस्मिताको प्राण पखेरु उडाए पछि आत्महत्या जस्तो देखाउन उनीहरुले भान्सा कोठाको सामान पुरानै ठाँउहरुमा राखे । उनको निधारमा लागेको चोट ढाक्न भान्सा कोठामा भएको चकटी राखिदिए । अनि रगत पुछेर आफ्नो रगत लागेको लुगा धोएर बाउछोरी सुत्न गए । र बिहान आत्महत्या गरिछिन् । भनेर छिमेकीतिर आफैले हल्ला फैलाए । यो सबै अनसुन्धानबाट खुलै पछि प्रहरीले यस अपराधमा संलग्न ससुरा, सासु, नन्दहरुलाई बाचुञ्जेल कैदमै रहने गरी मुद्धा अघि बढाएको छ । मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई प्रहरीले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
मकवानपुरका रूपेन्द्र थापा र कपिलवस्तुकी सुस्मिता क्षेत्रीबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो। रूपेन्द्र क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रालि हेटौंडामा काम गर्थे। उनीहरूको घरबार राम्रै चलिरहेको थियो। गत वर्ष दशैंमा पनि उनीहरू टीका थाप्न ससुराली पुगे। टीका सकेर असोज २३ गते रूपेन्द्र मोटरसाइकलमै हेटौंडा फर्किन हिँडे। त्यो दिनको यात्रा अरू यात्राजस्तो भएन। नवलपरासीको दाउन्नेमा रूपेन्द्रले चलाएको मोटरसाइकल दुर्घटनामा पर्यो। दुर्भाग्यवस त्यस दुर्घटनामा रुपेन्द्रको जीवन गुम्यो । त्यसै दिन पछि सुस्मिताका पनि दुखःका दिन शुरु मात्र भएन कालान्तारमा उनको काल पनि बनेर आयो । रुपेन्द्रको मृत्यु पछि हाम्रो छोरा खाईस् भनेर सासु ससुराले सुस्मितामाथि मानसिक यातना दिन थाले ।
यहीबीचमा एकदिन उनका ससुराले सुस्मितामाथि बलात्कारको प्रयास गरे। बाथरूममा हुँदा भएको उक्त घटनाले सुस्मिता अझ पीडित भईन् । डर र पीर दुबै बोकेर उनी माईत गईन् । तर फेरी के सोचिन् गत चैत्रमा माईतबाट हेटौडा घर आईन् र श्रीमान्को श्राद्ध गरिन् । त्यस पछि उनी माईत गईनन् । तनावमै दिनहरु बितिरहेका बेला अचानक असार २ गते राति सुस्मिताले आत्महत्या गरेको हल्ला सुस्मिताको परिवारले छिमेकीहरुमा गर्यो । तर वास्तविकता भने आत्महत्याको थिएन । प्रहरीलाई गाँउलेले खबर गरे पछि प्रहरी पुग्यो सुस्मिताको घरमा । तालिम प्राप्त प्रहरी अनुसन्धान अधिकृतहरुले हत्या वा आत्महत्याको सुईको नपाउने कुरै भएन । प्रहरीले हत्याको शंका त्यतिखेरै गर्यो ।
मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार असार २ गते बिहान साढे ६ बजेतिर हेटौंडा ४ कर्रास्थित सूर्य चोकमा २४ वर्षीया सुस्मिताले भान्सा कोठामा आत्महत्या गरेको प्रहरीलाई खबर आएको थियो।
‘खबर पाउनासाथ हाम्रो वडा प्रहरी गयो। केहीबेरमा डिएसपीको टोली पनि घटनास्थलमा पुग्यो,’ राठौरले भने,‘भित्रबाट चुकुल लगाएको कोठामा लास देखिएपछि हेटौंडा अस्पतालका डाक्टरसहित म पनि त्यहाँ पुगें। हामीले माइती पक्षलाई खबर गर्यौं।’
माइती पक्षले आफूहरू आएपछिमात्र शव उठाउन भनेकाले प्रहरीले कुर्यो। दिउँसो सुस्मिताका बुवा आइपुगे।
‘दुई बजेतिर ढोका फोडेर हेर्दा सुस्मिताको शव उत्तानो परेको अवस्थामा भेटियो। उनको टाउकोमा चोट लागेको थियो। वरपर रगत बगेको थियो,’ एसपी राठौरले भने,‘हामीलाई त्यो आत्महत्या हो भन्ने लागेन। तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थाल्यौं।’
अर्को दिन माइती पक्षले सुस्मिताका परिवारविरूद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिए। डिएसपी इन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोलीले काम थाल्यो।
‘अनुसन्धानबाट उनको हत्या भएको प्रहरीले पुष्टी गर्यो । सासूससुराले आफ्नो छोरो सुस्मिताकै कारण मरेको भन्दै उनलाई मानसिक तनाव दिइरहेका थिए।
‘ससुरालाई आफूले गरेको बलात्कारको प्रयासबारे बुहारीले बाहिर भन्ला भन्ने डर थियो। त्यो घटना बाहिर आए जेल जानुपर्थ्यो त्यही भएर उनी बुहारीलाई मार्न चाहन्थे,’ एसपी राठौरले भने।
सुस्मिताको हत्या हुनुको अर्को कारण रूपेन्द्रको मृत्युपछि पाइने रकम हो।
‘रूपेन्द्र सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई हामीले पाउनुपर्छ भनेर विवाद गरेछन्,’ एसपी राठौरले भने, ‘रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापाबीच विवाद भएको कारण हालसम्म भुक्तानी हुन नसकेको देखिन्छ।’
रूपेन्द्रका नामबाट सुस्मितालाई आउने सबै रकम आफूलाई दिन परिवारले बारम्बार उनलाई दबाब दिने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।