नागरिक पोष्ट News


आज असार १५ दही चिउरा खाने, धान रोपाई उल्लासका साथ गर्ने दिन

2.9K

 आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । यस दिन दही चिउरा खाने, धान रोपाई उल्लासका साथ गर्ने चलन रहेको छ । आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । असारे रोपाइँमा खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन्। मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउदै खेतमा बसेर खाजा खादै, खाजा खाने समयमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा छ ।

रोपाइको दिनमा खेतका मालिकहरु पनि खेतमा आई खेतलासंग हिलोमा रमाउने गर्छन् । स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो । २०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो ।

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुने गर्दछ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धानको खेती हुँदै आएको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ ।

नेपालमा वि.सं २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

Must View