काठमाडौं भित्र र बाहिर जाने नयाँँ नियम, अनिवार्य पास लिनुपर्ने यस्तो व्यवस्था
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानी प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीको पासका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौंले आइतबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार उपत्यकाभित्र प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारी पासका सम्बन्धमा नयाँ व्यवस्था गरेको जनाएको छ ।
अब बाहिरी जिल्लाबाट राजधानी आउन चाहनेले आफू उपत्यकामा बसोबास गरेको नगरपालिकाले प्रवेशका लागि दिएको अनुमतिपत्र सहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।
सो पत्रको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सिडिओ कार्यालयसँग अनुमति माग्दै पत्र लेख्नेछ । सम्बन्धित जिल्लाबाट पत्र प्राप्त भएपछि संक्रमण जोखिम विश्लेषण, यात्राको औचित्य पुष्टि हुने कागजात समेतका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास जारी गर्न सहमति दिने सूचनामा उल्लेख छ ।
यसको अर्थ जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई उपयुक्त नलागेको खण्डमा बसोबास गर्ने नगरपालिकाको पत्र र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुरोधमा पनि सवारी पास जारी गर्ने अनुमति नपाउन सकिन्छ ।
उपत्यकाबाट बाहिर जानेको हकमा व्यक्तिगत अत्यावश्यक कामको लागि भए प्रयोजन खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।
सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सिडिओ कार्यालयमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।