नागरिक पोष्ट News


२८ औं आईजीपीका प्रतिस्पर्धीमा हरिबहादुर पाल र शैलेश थापाको दौडधुप यस्तो

3.8K

काठमाडौं । अट्ठाइसौ आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय हरिबहादुर पाल र शैलेश थापा दुवै नेपाल प्रहरीमा ब्यवसायीक तथा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । पालसँग नेपाल प्रहरी सेवाको अधिकांश समय फिल्डमा खटिएर चुनौतीपूर्ण काम गरेको अनुभव छ । उनले रूपन्देही, धनुषा कास्की तथा डडेलधुरा नुवाकोटलगायत जिल्ला प्रहरी कार्यालयको कमाण्ड कुशलतापूर्वक निर्वाह गरेका थिए ।

सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी चुनौतीपूर्ण जिम्मेवारीको मानिने प्रदेश दुई प्रहरी प्रमुख रहँदा पालको कमाण्डमा अपराध, चोरी, तस्करी तथा चगुण्डागर्दी नियन्त्रणमा सफल भएसँगै सरकारले उनलाई विषेश ब्यूरो प्रमुखको जिम्मेवारी दिएको थियो ।

आतंकवाद तथा प्रतिआतंकवाद विरूद्धको विशेष रणनीति तथा कारवाही गर्ने प्रहरीको महत्त्वपूर्ण मानिने विशेष ब्यूरोमा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी सम्हालिसकेका एआईजी पाल प्रहरीको भावी नेतृत्वका प्रबल दाबेदार हुन् ।

पालले नेतृत्व सम्हालेसँगै विशेष ब्यूरोले विप्लव समूहमाथि गोप्य निगरानी तथा अपरेसन चलायो । जसका कारण पछिल्लो १ बर्षमा विप्लव समुहका झन्डै १५ सय बढि उच्च तहका नेता कार्यकता पक्राउ परेका छन् । एनसेल टावरमा तथा ब्यापारी र पूर्वकर्मचारीको घरमा शृङ्खलाबद्ध रूपमा विस्फोट गराएर काठमाडौं उपत्यका नै असुरक्षित बनेका बेला पाल विशेष ब्यूरोमा आएर विप्लव समूहमाथि अपरेसन सुरु गरेका थिए ।

ब्यूरोले ठूलो संख्यामा बिप्लव समूहबाट हातहतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिएपछि उक्त समूह पछिल्लो समय प्रभावबिहीन बनिसकेको छ । एआईजी पाल हाल अपराध अनुसन्धान विभाग र कार्य विभागको नेतृत्व सम्हालिरहेका छन् । प्रहरीमा निडर, आक्रामक तथा अवस्था अनुसार तत्काल सुरक्षा रणनीति बनाउन सक्ने क्षमता भएका पाल कडा मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

आईजीपीका अर्का प्रतिस्पर्धी शैलेश थापा प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारी हुन् । प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । नीतिगत निर्णय गर्न रूचाउने थापा शालिन प्रहरी अधिकारीका रूपमा परिचित छन् ।

एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । एआईजी बरियतामा दोस्रो नम्बर रहेका थापासँग फिल्डमा काम कम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर जस्ता आरोप लाग्ने गर्छ ।

हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका शैलेश क्षेत्रीमाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ । प्रहरीका पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्केसंगै आईजीपी ज्ञवाली र क्षेत्रीमाथि संगठनमा न्याय गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ । क्षेत्री र पाल दुवै जना २०७६ फागुन १५ गते क्रमशः दोस्रो र तेस्रो नम्बरमा एआईजी बढुवा भएका थिए ।

विवादरहित प्रतिस्पर्धा

नेपाल प्रहरी २०४६ सालदेखिको अस्वस्थ प्रतिस्पर्धा यो पटक सतहमा देखिएको छैन । आ–आफ्ना क्षेत्रमा अब्बल तथा ब्यावसायीक पहिचान बनाएका दुवै प्रहरी अधिकारी जो सुकै आईजीपी बने पनि सहयोग गर्ने आपसमा प्रतिबद्धता गरेका छन् ।

९८ औ व्याचमा नेपाल प्रहरीमा भर्ना भएका पाल र क्षेत्रीमध्ये एकजना आईजीपी नियुक्त हुनेछन् । तारिणी लम्साल आईजीपी ज्ञवालीसँगै अनिवार्य अवकाशमा गएसंगै रिक्त हुने दुई एआईजी पदमा रोलक्रम अनुसार अगाडि रहेका पाल र थापाका सहब्याची डिआईजीद्वय प्रद्युम्न कार्की तथा निरजबहादुर शाही एआईजीमा बढुवा हुनेछन् ।

यी चारैजनामा पाल र थापाबीच जो सुकै आईजीपी नियुक्त भएपनि एक अर्कालाई सहयोग गर्ने सहमति समेत बनेको बताइन्छ । नेपाल प्रहरीमा लामो समयदेखि भैरहेको अस्वस्थ प्रतिस्पर्धा यो पटक देखिएन भने आगामी नेतृत्वलाई काम गर्न सहज हुनेछ जसको प्रत्यक्ष प्रभाव शान्ति सुरक्षामै देखिनेछ । कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी फैलिएसंँगै मुलुक आर्थिक रुपमा संकट आउन सक्ने अनुमान गरिएको छ ।

संक्रमणका कारण बिदेशमा रोजगारीका लागि गएका लाखौं युवा स्वदेश फर्कने क्रममा छन् । संक्रमणका कारण महंगी तथा बेरोजगारी बढन सक्ने अनुमान गरिएको छ । जसका कारण अपराध, चोरी डकैती बढ्नसक्ने भएकाले प्रहरीको आगामी नेतृत्व संभावित सुरक्षा चुनौतीको सामना गर्न सक्ने अनुभवी हुनुपर्ने राजनीतिक उपल्लो वृत्तमा चर्चा सुरु भएको छ ।

जसका लागि विगतमा फिल्डमा खटिएर कुशल नेतृत्व प्रदान गरेको जोखिमपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको आधारमा एआईजी पाल नै २८ औ आईजीपी नियुक्त हुनसक्ने प्रवल संभावना छ ।

Must View