नागरिक पोष्ट News


सलह (फट्यांग्रा किरा) को जोखिममा नेपाल, अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुग्यो

2.2K

 दक्षिण एसियामा सलहको प्रकोप देखिएको छ। नेपालको तराई क्षेत्र पनि सलहको जोखिममा रहेको विज्ञहरुले बताएका छन्।

पूर्वी अफ्रिकाबाट सुरु भएको सलह मध्यपूर्व पाकिस्तान हुँदै नेपालको सीमा जोडिएको भारतसम्म आइपुगेको छ। तीन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सलहले भारतको राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशमा बालीनाली ध्वस्त बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अहिले सलह दिल्लीतर्फ बढिरहेको बताइएको छ। दिल्लीमा सतर्कता जारी गरिएको छ।

पाकिस्तान हुँदै भारतका राजस्थान राज्यमा प्रवेश गरेको सलहले अन्नबालीमा ठूलो क्षति गरेको छ। यसअघि नै यो सलहका कारण इथियोपिया, केन्या, सोमालिया, जिबुटी र एरिट्रियाका १ करोड ३० लाख मानिसको खाद्य सुरक्षामा खतरा निम्त्याएको राष्ट्र संघको खाद्यान्न तथा कृषि संगठन (एफएओ) जनाएको छ।

नेपाल पनि सलहको कारण समय–समयमा पीडित भएको र अनिकाल निम्तिएको इतिहास भेटिन्छ।  सलह सबैभन्दा विध्वंसकारी किरामा पर्छ। यसले सबै प्रकारका बाली खाने गर्छ। सलहको एउटा ठूलो समूहले एकै दिनमा ३५ हजार मानिसले खाने जति खान्छ।

फट्यांग्रा प्रजातिको सलहमा सन्तान जन्माउने क्षमता अत्याधिक हुन्छ। एउटा मात्रै पोथी सलहले तीन महिनाको जीवनचक्रमा तीन पटक फूल पार्छ। प्रत्येक पटक ७० देखि ८० वटा फूल पार्ने गर्छ।

सलह किरा

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यो किरा समूहमा बस्न मन पराउँछ । यो सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ ।

१० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ । वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ ।

Must View