कोरोना कोभिड १९ को असर : बैंक तथा वित्तीय संस्थाको ३२ खर्ब लगानी जोखिममा
कोरोना भाइरसका कारण बैंक तथा वित्तीय क्षेत्रको लगानी जोखिममा पर्ने भएको छ । कोरोना भाइरसको अन्त्य कहिले हुने भन्ने बारे अन्यौल बढ्दै जाँदा बैंक तथा वित्तीय क्षेत्रले गरेको लगानी जोखिममा पर्ने देखिएको हो । हाल बैंक तथा वित्तीय संस्थाले कृषि, पर्यटन, वेवरेज, रिटेल, जलविद्युत, रियलस्टेटजस्ता क्षेत्रमा ठूलो लगानी गरेको र कोरोना पछिको लकडाउनका कारण उक्त क्षेत्रहरु ठप्प हुन पुग्दा लगानी जोखिममा पर्ने देखिएको हो । नेपालका बैंक तथा वित्तीय क्षेत्रले लकडाउन सुरु हुनुभन्दा अघि अर्थात फागुन मसान्तसम्ममा सबै क्षेत्रमा गरी कुल ३२ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये २८ खर्ब ४ अर्ब बाणिज्य बैंकको रहेको छ भने ४ खर्ब ९ अर्ब रुपैयाँ विकास बैंक र फाइनान्स कम्पनीहरुले लगानी गरेका छन् । सो अबधिसम्ममा सबैभन्दा बढी कर्जा होलसेल तथा रिटेलमा ५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रदान भएको छ भने कृषि, फरेष्ट्री र वेवरेजमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रदान भएको छ । यसैगरी निर्माण क्षेत्रमा ३ खर्ब ४५ अर्ब र रियल स्टेटमा २ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तथ्याङकले देखाएको छ । यसैगरी होटलमा १ खर्ब ४२ अर्ब रुपैयाँ लगानी हुँदा जलविद्युत, ग्याँस र सिँचाईमा १ खर्ब ४९ अर्ब कर्जा प्रवाह भएको छ । सो अबधिमा अतिरिक्त सेवामा १ खर्ब ३७ अर्ब तथा व्यक्तिगत कर्जा लगायतका ओडी लोनमा ४ खर्ब ७० अर्ब रुपैयाँ लगानी भएको तथ्याङ्कले देखाएको छ । यस्तै ट्रान्पोटेशन र कम्युनिकेशमा ९३ अर्ब रुपैयाँ र कम्जम्शन क्षेत्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रबाह भएका छ । बैंक तथा वित्तीय संस्थाहरुले ठूलो मात्रामा लगानी गरेका क्षेत्रहरु ठप्पजस्तै हुँदा आगामी दिनमा कर्जा असुलीमा समस्या आउने सम्बद्ध सारोकारवालाहरु बताउँछन् । विशेषगरी बैंकहरुको ठूलो कर्जा प्रवाह भएका कृषि, रियल स्टेट, जलविद्युत, पर्यटन, होलसेल तथा रिटेलजस्ता क्षेत्रहरुमा प्रत्यक्ष असर परेको हुँदा त्यस्ता क्षेत्रमा प्रवाह गरिएको कर्जाको किस्ता र ब्याज उठाउन एकदमै ठूलो समस्या हुने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारीले जानकारी दिए । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरुले प्रवाह गरेका कर्जामा समस्या उत्पन्न हुने पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा। रामशरण महत बताउँछन् । रिटेल लगायतका अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ठूलो लगानी रहेको र त्यस्ता क्षेत्रहरुमा पनि आर्थिक गतिविधि सुचारु नभएसम्म बैंकको कर्जा तिर्न कठिन हुनेछ । साथै लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा उद्योगी व्यवसायीको ब्याजलगायतत खर्च मात्र बढिरहेकाले अबका दिनमा बैंकको कर्जा तिर्न बढी समय लाग्ने समेत महतले बताए । लकडाउन लम्बिएर आर्थिक गतिविधि ठप्प भएसँगै बैंकहरुले प्रबाह गरेका कर्जाको जोखिम उच्च रुपमा बढेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।
लकडाउनका कारण माछा मासु बिक्री हुन नपाउँदा किसानको खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको हुँदा त्यस्ता क्षेत्रमा प्रवाह गरिएको कर्जाको समेत जोखिम बढ्न सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । हाल बाहिर जिल्लाबाट माछा मासु ओसार पसार गर्न नपाउँदा कृषकलाई दाना खुवाउन समेत समस्या उत्पन्न भएको छ । साथै बैंकहरुले उत्पादनमुलक क्षेत्रमा प्रबाह गरेको कर्जामा समेत समस्या आउने देखिएको छ । लामो समयको बन्दाबन्दीको कारण जलविद्युत क्षेत्रका लगानीकर्ताहरु ‘बैंकक्रप्ट’ हुने अवस्थामा पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान का अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए । यसैगरी अहिलेको अवस्थामा होटल व्यवसायले बैंकको कर्जा तिर्न सक्ने अवस्था नरहेको एमएस ग्रूप तथा होटल मेरिओटका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए ।