नागरिक पोष्ट News


२८ औं आईजीपी को ? शैलेश थापा क्षेत्री र हरि बहादुर पालको दौडधुप यस्तो छ

2.2K

काठमाडौं-नेपाल प्रहरीमा २८ औं महानिरीक्षकको लागि दौडधुप सुरु भएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले २५ असारबाट अवकाश पाउने भएकाले डेढ महिनाअघिबाट आकांक्षीहरुको शक्तिकेन्द्रहरुसँग भेटघाटका श्रृंखला बढेको छ । यसपटक नयाँ महानिरीक्षकका लागि यसपटक दुई जनाबीच मात्र प्रतिस्पर्धा छ । एआईजीहरु शैलेश थापा क्षेत्री र हरि बहादुर पाल २८ औं महानिरीक्षकको प्रतिस्पर्धामा छन् । लकडाउनकै अवधिमा दुवै जनाले राजनीतिक भेटघाट बढाउन थालेको स्रोत बताउँछ ।

गत चैतमा भएको एआईजी बढुवामा क्षेत्री पहिलो तथा पाल दोस्रो नम्बरमा परेका थिए । पहिलो नम्बरमा भएकाले क्षेत्रीलाई केही सहजता देखिन्छ तर उनलाई नेकपाको राजनीतिक नेतृत्वले विश्वास नगरेको चर्चा प्रहरी वृत्तमा छ । व्यवसायिक अधिकृतको छवी बनाएका क्षेत्री पछिल्लो समय नेकपाका नेताहरुसँग सम्बन्ध बनाउने प्रयासमा छन् । भक्तपुरका स्थानीय भएकाले महेश बस्नेत लगायत मार्फत उनले नेकपा नेतृत्वलाई विश्वासमा लिने प्रयास गरेको स्रोत बताउँछ । पछिल्लो समय प्रधानमन्त्री ओलीले बस्नेतलाई महत्व दिन छाडेको बालुवाटार निकट स्रोतले बतायो । गृहमन्त्री रामबहादुर थापा नै उनको कार्यशैलीसँग असन्तुष्ट छन् ।

एआईजीको पालको भने नेकपाका धेरै नेताहरुसँग राम्रो सम्बन्ध छ । प्रधानमन्त्रीकै इच्छा अनुसार डिआईजी बढुवामै उनलाई चौथोबाट दोस्रो नम्बरमा पारिएको स्रोत बताउँछ । तर, एआईजी बढुवामा भने उनी पहिलो नम्बरमा आउन सकेनन् । दोस्रो नम्बरमा एआईजी भएकाले आईजिपी बन्न उनलाई केही गाह्रो हुने देखिन्छ । प्रधानमन्त्रीकै रुचि भएकाले उनि आईजीपीका स्वाभाविक दाबेदार हुन् ।

आईजिपी बढुवामा कार्यक्षमता लगायतका विषय भन्दा सरकारले विश्वास गरेको व्यक्तिलाई नियुक्त गर्ने अधिकार कानूनले दिएको छ । जसकारण अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । दुईमध्ये ओली र प्रचण्डको मन जित्ने व्यक्ति नै २८ औं महानिरीक्षक हुने निश्चित छ । तर, देशको अवस्था असामान्य भएकाले प्रहरी नियमावली संशोधन गरेर वर्तमान प्रहरी महानिरीक्षककै कार्यकाल थप हुन पनि सक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । यसका लागि वहालवाला आईजीपी ठाकुर ज्ञवाली ज्यान छाडेर लागिपरेका छन् । ज्ञवालीलाई केन्द्रमा राखेर एस्तो निर्णय गर्दा अन्य जुनियर अफिसरको करिअर धरापमा पर्ने निश्चित छ ।

आईजिपीसँगै एआईजी बढुवामा पनि धेरैको चासो छ । असारपछि एआईजीका दुई पद रिक्त हुँदैछन् । निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल जसरी पनि असारमा एआईजी हुने दाउमा छन् । तिनमध्ये पोखरेल जुनियर ब्याचका हुन्, असारमा एआईजी नभए उमेरहदका कारण डिआईजीबाटै अवकाश पाउने र एआईजी भए दुई वर्षपछि आईजिपी पक्का जस्तै हुने भएकाले उनी लागेका हुन् । यसपटक उनलाई एआईजी हुन रोकेमा ब्याचका अन्य अधिकृतहरु समेत पछि आईजिपीको प्रतिस्पर्धामा हुनेछन् । जसमा सहकुल थापा, धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा लगायत छन् । यही कारण उनीहरु पोखरेलविरुद्ध एकजुट हुने सम्भावना छ । सहकुल थापा आफ्नो ब्याचबाट डिआईजीमा एक नम्बरमा बढुवा भएका छन् । - कान्तिपथ बाट

Must View