बंगालको खाडीबाट चक्रवात धेरै शक्तिशाली बन्दै नेपालतर्फ आउँदैछ,होसियार बनौं - मौसम महाशाखा
बंगालको खाडीमा अम्पुन नामको धेरै शक्तिशाली चक्रवात बनिसकेको र त्यो अझ शक्तिशाली बन्ने क्रममा रहेको भन्दै नेपालका बासिन्दालाई पनि होसियारी अपनाउन यहाँको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
मौसमी बुलेटिन जारी गर्दै महाशाखाले त्यसकाे प्रभावले देशभर वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैलाई अनुराेध गरेकाे हाे।
विशेष बुलेटिनमा भनिएकाे छ: हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अम्पुन (AMPHAN) शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रुपमा विकसित भैसकेको छ। उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशैभर बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार प्रतिघण्टा १३ किलोमिटरको वेगमा अहिले यो चक्रवात भारतको उत्तरतर्फ अघि बढ्दै छ र याे चक्रवातभित्रकाे आँधीको वेग प्रतिघण्टा ४०७ किलाेमिटर छ। अहिले याे प्रणाली भारतका आन्ध्र प्रदेश, उडिसा, केरलालगायत राज्यमा आइसकेको छ। जसकाे असर श्रीलंका, इन्डाेनेसियामा पर्न सुरु भइसकेकाे छ।
यो अझ उत्तर बढ्दै जाने क्रममा बंगलादेश हुँदै नेपालमा पनि प्रभाव पर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए।