लकडाउन थप २ हप्ता बढाउने, उद्योग संचालनको अनुमति पनि खारेज गर्ने तयारी
काठमाण्डौ । सरकारले लकडाउनलाई थप २ हप्ता बढाउने भएको छ । देशका विभिन्न क्षेत्रसहित संघीय राजधानी काठमाण्डौमा समेत कोरोना संक्रमितहरु फेला पर्न थालेपछि लकडाउनलाई कडा बनाउने निर्णय गरेको सरकारले जेठ ५ सम्म जारी लकडाउनलाई २ साता बढाउने तयारी थालेको हो । जेठ ५ गतेसम्म कायम लकडाउन कम्तीमा २ साता बढाउने गरी तयारी थाल्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् । योसँगै जेठ ५ पछि पनि लकडाउन जेठ २० गतेसम्म लम्बिनेछ । त्यसपछि संक्रमणको अवस्था हेरेर थप निर्णय हुने बताइएको छ । नेपालमा लकडाउन खुकुलो पार्दा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सरकारले आवश्यक सावधानी र सुरक्षाका उपाय अपनाएर संचालन गर्न दिएका ४४ प्रकारका उद्योगहरुको विषयमा समेत पुनविचार गर्ने भएको छ । संचालनको अनुमति दिइए पनि अवस्था केही जटिल बनेपछि ४४ उद्योगकै संचालन अनुमति समेत खारेज गर्ने तयारी सरकारले गरिरहेको जनाएको छ ।