लकडाउन थप कडा, शनिवारदेखि जिल्लाभित्रै पनि हिँडडूल गर्न नपाइने
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण फैलन थालेपछि गम्भीर बनेको सरकारले शुक्रबारदेखि काठमाण्डौ उपत्यकाको लकडाउनलाई थप कडा पार्ने भएको छ ।
बिहीबार गृह मन्त्रालयको आह्वानमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयरहरु, सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा शुक्रबारदेखि लकडाउनलाई कडा बनाउने सहमति बनेको हो ।
बैठकमा सहभागी एक मेयरका अनुसार शुक्रबारदेखि सवारी साधनको आवागमन र चेकिङलाई थप कडा पारिनेछ ।
उपत्यकाका मुख्य सडक मात्र नभई भित्री सडकहरुमा समेत सुरक्षाकर्मी परिचालन गरी चेकिङ थालिने निर्णय भएको ती मेयरले जानकारी दिए ।
बैठकले उपत्यकाका सबै नाकाहरु पूर्ण रुपमा शिल गर्ने, चोर नाकाहरुमा समेत सुरक्षाकर्मी परिचालन गरी उपत्यका भित्रिन र यहाँबाट बाहिरिने कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
यसैबीच, सोही बैठकपछि गृह मन्त्रालयले जिल्लाभित्र जारी भएका सवारी पास समेत खारेजीको निर्णय गरेको छ ।