सांसद सुरेन्द्र यादव अपहरणको जाहेरी काठमाडौं प्रहरीमा, अनुसन्धान प्रक्रिया शुरु
२६ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि अनुसन्धान हुने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको जाहेरी दर्खास्त पठाएपछि अनुसन्धान सुरु भएको हो ।
अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।
तर, वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका थिए । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको थियो ।
लकडाउनको समयमा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । सांसद यादवले आफूलाई इच्छाविपरीत काठमाडौं ल्याएको बताएका छन् ।