मौसममा तीन दिनसम्म सुधार नआउने, काठमाडौंमा चिसो, सर्तक रहन आग्रह
प्रकाशित मिति : २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ ।
यसको असरले गर्दा हाल पूर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखले जनाएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले काठमाडौं उपत्यकादेखि पश्चिम तथा तराईका साथै देशैभरजसो बदली रहेको छ । बर्षा पनि भइरहेको छ ।
यो क्रम अपरान्हपछि हट्न सक्ने उनले बताए । देशका केही स्थानमा मेघगर्जन, चट्याङ हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
यो क्रम आगामी तीन दिनसम्मै रहने छ ।
काठमाडौं उपत्यकामा चिसो बढेजस्तो भएको छ । मौसमविद् श्रेष्ठ भने चिसो बढेको नभइ चिसो बढेजस्तो भएको बताउँछन् ।
उनले तापक्रमका अनुसार तुलना गर्दा बुधबार न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेकामा बिहीबार १४ डिग्री रहेको बताए ।
बादल रहनु र पानी परिरहेका कारणले चिसो बढेजस्तो भए पनि खासमा चिसो नभएको उनको भनाई छ ।