अनलाइन कक्षा कतातिर : काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर भने जस्तै
- भरतराज उप्रेती
कोरोना भाइरस कोभिड १९ ले विश्व समुदायलाई बन्द कोठाभित्र राखिदिएको छ । विश्वव्यापी आर्थिक संकट छाएको छ । शिक्षा, व्यवसाय, उद्योग, कलकारखाना, होटल पर्यटन, एयरलाइन्स सबै ठप्प पारिदिएको छ । कोरोनाले उद्योग कलकारखाना र शिक्षा क्षेत्रमा सबैभन्दा बढी असर पुर्याएको छ । अर्थतन्त्र चौपट बनाइदिएको छ ।
यहाँ उठाउन खेजिएको कुरा नेपालको अनलाइन शिक्षाको हो । कोरोनाको भाइरसको आक्रमण रोक्न नेपालले अहिले लकडाउन गरिराखेको छ । लकडाउन १ महिना पार गरेको छ । थप १० दिन लम्ब्याउने घोषणा नेपाल सरकारले गरेको छ । चल्नै लागेको एसइइ परीक्षाको अघिल्लो दिन लकडाउन घोषणा गरेको नेपालमा एसइइ सँगै कक्षा ११ र १२ को परीक्षा पनि रोकिएको छ । त्रिभुवन विश्वबिद्यालयले लिने मास्टरको केही परीक्षा समेत रोकिएको छ । परीक्षा सँगै बैशाख पहिलो हप्ताबाट सञ्चालन हुने नयाँ शैक्षिक सत्र १ महिना पछाडी धकेलिएको छ । चैत्रमा लिइएका परीक्षाहरु नतिजा समेत घोषणा गर्न बिद्यालयहरुले सकिरहेका छैनन् । यतिखेर भाइरसबाट बच्नका लागि मानिसहरु धेरैजसो गाउँ पुगिसकेका छन् । बाँकी केही भोकमरीको समस्यासँगै मानसिक समस्यामा छन् ।
जीवजीवन कहिले पूर्ववत हुन्छ । यसै भन्ने अबस्थामा छैन । विश्व स्वास्थ्य संगठन भन्छ, लकडाउन खुलेको केही महिनासम्म सामाजिक दुरी कायम राख्नुपर्दछ, नत्र कोरोना भाइरसको संक्रमण फैलिन खतरा छ । कोरोना कहरको बीच नेपालमा अनलाइन शिक्षालाई अगाडी बढाएर कक्षा सञ्चालन गर्नेतिर कुद्नेहरु अहिले केही बिद्यालयहरु लागि परेका छन् । हुनत संकटका बीच अवसर खोज्ने हो, त्यो काम प्रविधिले पूरा गरिदिन्छ । विकसित मुलुकहरुमा अनलाइनबाट पढाई हुने गर्दछ । तर नेपालको सन्दर्भमा यसको स्पष्ट गाइडलाइन छैन । स्रोत साधन पनि सबैतिर पुगिसकेको छैन ।
अनलाइन कक्षा : शिक्षिका लाइभमा आउँछिन् “हेल्लो.. हेल्लो खै कोही बोल्दैन” कक्षा सकिन्छ…!
सरकारले इन्टरनेटको सुविधा भएका विद्यार्थीका लागि अनलाइनबाट र इन्टरनेट पहुँच नभएका विद्यार्थीका लागि रेडियो वा टेलिभिजनबाट पढाउने जनाएको छ । त्यही योजनाअनुसार शैक्षिक सामग्री निर्माणको काम भइरहेको साना कक्षाका लागि पनि शैक्षिक सामग्री तयार गर्ने काम भइरहेको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए पनि कहिलेबाट शुरु गर्ने भन्ने स्पष्ट छैन ।
कोरोनको त्रासका बीच मानिसहरु धेरैजसो गाउँमा पुगेका छन् । यो सँगै अधिकांश बिद्यार्थीहरु गाउँमा त्राहीमाम भन्दै बसेका छन्। अब यस्तो अबस्थामा अनलाइन कक्षा कसका लागि सञ्चालन गर्ने हो प्रश्न उठेको छ । गाउँमा मोबाइलको नेटवर्क त राम्रो टिप्दैन, इन्टरनेटको कुरै नगरौ । फेरि अनलाइन कक्षा प्रत्यक्ष भिडियोको साथ हुनुपर्यो । निजी क्षेत्रका केही शिक्षकहरु बाहेक सरकारी स्कुलका शिक्षकहरु प्रविधि मैत्री छैनन् । कतिपयलाई त मोबाइलमा आएको मेसेज र खोल्न आउदैन । यस्तो अबस्थामा सम्भव हो्ला अनलाइन कक्षा ।
सरकार अनलाइनको माध्यमबाट पठनपाठन गराउँ मात्र भन्छ, त्यसको विधि बिधान केही तोक्न सक्तैन ।
इन्टरनेटको पहुँचमा भएका बालबालिकाका लागि शिक्षा आवश्यक भएपनि इन्टरनेटको पहुँचमा नभएका लागि के गर्ने भन्ने कुरामा सरकार आफैँ अन्योलमा छ । शिक्षाको पहुँचमा सबैलाई पुर्याउने सरकारको लक्ष्य भएपनि अनलाइन प्रविधिलाई मात्र जोड दिँदा इन्टरनेटको पहुँच भएका बालबालिकाले शिक्षा लिने र पहुँच बाहिर भएका बालबालिका शिक्षाबाट वञ्चित हुने देखिन्छ । सरकारले अनलाइनबाट पढाउने र त्यसको लागि शैक्षिक सामग्री बनाउने कुरा गरिरहँदा दूरदराजका बालबालिकालाई भने नजरअन्दाज गरेको शिक्षाविद्को तर्क छ ।
केही निजी क्षेत्रका कलेजहरु अनलाइन कक्षा चलाउने वहनामा बिना व्यवस्थापन स्रोत साधन सामाजिक सञ्जालमा सस्तो लोकप्रियता देखाउन अनलाइन कक्षा सञ्चालन गरियो भन्दै कुदिरहेका छन् । कतिपय बिद्यालयकाहरुले जुम भन्ने सोसल एपमार्फत अनलाइन मिटिग गरिरहेका छन् । हुनत त जुम एप नराम्रो होइन तर पनि यसमा सुरक्षा संवेदनशीलताको प्रश्न तेर्सिएको छ । अप्रिलकै दोस्रो हप्तातिर जुममाथि साइवर हमला भएको थियो भने ५ लाख प्रयोगकर्ताहरुको व्यक्तिगत डाटा ह्याकरले नियन्त्रणमा लिएको जुमले नै स्वीकार गरिसकेको छ ।
यस्तो अबस्थामा थर्ड पार्टी एपहरु चलाएर नेपालको अनलाइन पढाई सम्भव होला । आफ्नै प्रविधि कहिले बनाउने । अनलाइन कक्षा सञ्चालनका धेरै फाइदाहरु छन् । अमेरिका युरोप, जर्मन, क्यानडा बेलायत लगायतका देशहरुमा अनलाइनबाट माध्यमिक लेभलका कक्षाहरु र परीक्षा पनि अनलाइनकै आधारमा हुने गरेका छन् । तर यहाँ उठाउन खोजेको कुरा भनेको अनलाइन कक्षा सञ्चालनको लागि सरकारी नीति, प्रविधि तयारी र स्रोत साधनको व्यवस्थापन कति सम्भव छ । त्यसको उपलब्धता लक्षित वर्गले गर्न सक्छन् की सक्तैनन् भन्ने मात्र हो, साथै सुरक्षा संवेदनशीलता पनि हो । प्रयोगकर्ताले प्रयोग गर्ने मोबाइल कम्प्युटर र इन्टरनेटको अबस्था कस्तो छ भन्ने कुराको मोनिर कसले गर्ने, की त्यसका लागि थर्ड पार्टी एपहरुको ग्यारेण्टी के छ । यसबारेमा सम्बन्धित होस्ट कर्ता जिम्मेवार कसरी रहन्छ भन्ने लगायतका कुराप्रतिको ख्याल कसैले गरेका छैनन् । खाली जुम छ, जुमबाट अनलाइन कक्षा, मिटिग गर्न सकिन्छ भनेका छन् र यसो गर्यौ उसो गर्यौं भन्दै प्रचारवादी मात्र गरेको देख्छौं । अनलाइन कक्षाका लागि आवश्यक परामर्श र ज्ञान दिने काम कही कसैले गरेको मैले जुम प्रयोगकर्ताहरुलाई सोध्दा पाएको छु ।
खाली जुम एप डाउनलोड गर्नुस् त्यसपछि तपाइको मोबाइल भाइवर ग्रुप वा मेसेन्जरमा लिंक सहित युजर आइडी र पासवर्ड आउँछ अनि अनलाइन मिटिग वा कक्षामा आउनुहोस् मात्र भन्ने गरेका छन् । त्यसको प्राविधिक आधिकारिक र सुरक्षित प्रयोगबारेको जानकारी केही छैन । यसर्थ जुमबाट वा अन्य भिडियो कन्फेरेन्सबाट तत्काल नेपालका लागि अनलाइन कक्षा सम्भव छैन । अनलाइन कक्षाका तयारीका सम्बन्धमा अहिलेको सबैभन्दा उत्तम उपाय भाइवर ग्रुप, फेसबुक पेज वा ग्रुपबाट पहिले पढाईको सेलेवल बाँडौं र बिद्यार्थीलाई तयारीमा राखौं त्यसपछि पढाईका कोर्षहरु टेक्स्ट अंग्रेजी तथा नेपाली दुबै माध्यमबाट पठाऔं त्यसपछि स साना भिडियो फुटेज स्मार्टफोनबाटै अडियो भ्वाइसमार्फत प्रवाह गरौं ।
प्राविधिक सोत भएकाहरुले आफ्नै स्कूल कलेजको एप बनाऔ र त्यो एपमा अनलाइन कक्षा राखौं । प्रत्येक दिनका कम्तीमा २ कक्षाहरु अपलोड गरौं र बिद्यार्थीलाई एउटा कक्षा एकपटकका लागि हेर्ने सुन्ने सिस्टम बनाऔं र स्मार्टफोनबाटै पढ्न सक्ने बनाऔं । एक पटक पुरा हेरिसकेपछि त्यो सेसन आफै बन्द हुने र अर्को पटक खोल्न नमिल्ने बनाऔं ।
इन्टरनेटको सुबिधा नहुनेहरुका लागि स्मार्टफोनका माध्यमबाट अफलाईन कन्टेन्टहरु हेर्न मिल्ने एप बनाऔं नभए पनि मोबाइल डाटाको भरमा खुल्ने गरी एकपटक पढिसकेपछि अटो डिलिट हुने गरी अनलाइन पहुँच बढाऔं । पीडिएफ फर्मेटबाट कन्टेन्ट, फोटोसहित अनलाइन इमेल फर्मेटमा पढ्न मिल्ने गरी मात्र पनि पठाउन सकिन्छ । फेसबुक पेजमा सिलसिलेवार रुपमा युनिकोडको माध्यमबाट पनि पठाएर अनलाइन कक्षाको तयारीलाई यो लकडाउनको अवसरका रुपमा प्रयोग गर्न सकिन्छ । न की जबरजस्ती स्रोत र साधन बिना देखाउनकै लागि एक दुइवटा कक्षा दुई चार जनालाई दिएर अनलाइन कक्षाको परिभाषा गर्ने तर्फ नलागौं ।
यदि त्यति नी सम्भव नभए इमेलमार्फत भाइवरमार्फत अनलाइन कन्टेटहरु पठाऔं । लकडाउन खुलेको एकहप्ताभित्र हेर्न भनौं । जसबाट एक देखि दुई महिनाको कोर्षहरुलाई प्रिकक्षाको रुपमा लिई बिद्याालय खुलेपछि संक्षिप्तमा जानकारी दिन सकिन्छ । बिस्तारै आफ्नै सुरक्षित एपको प्रयोग गर्नेतर्फ लागौं । नत्र अनलाइन कक्षा कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै हुन्छ । जसको उपलब्धित हात लाग्यो शुन्य नै हुन्छ भन्दा फक नपर्ला ।