अक्षय तृतीयाः दुर्लभ योग परेको छ, जौको सातु र सर्वत खाएर मनाइने
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।
यस दिन पृथ्वीमा जो कोहीले विष्णुलाई विधि विधानले पूजा गर्छ वा चना, सातु, मौसमी फल, कपडा र पानीले भरिएको घडा दान गर्छ उनको घरको भण्डार सधैं पूर्ण रहनेछ । त्यही कथाको आधारमा यो पर्वको महत्व बढ्न गएको हो ।
अक्षय तृतीया । यो आफैमा निकै महत्वपूर्ण दिन हो । यसपटक यो दिन निकै राम्रो दुर्लभ योग परेको छ ।
अक्षय तृतीयामा यदि रोहिणी नक्षत्र भएन भने खराव शक्तिले कब्जा जमाउँछ । तर यसपटक रोहिणी नक्षत्र छ । यो नक्षत्रमा चन्द्र वृष राशीमा हुनेछ । वृष चन्द्रको उच्च राशी हो । चन्द्र वनस्पतिको स्वामी हुनुका साथै धन र मनको पनि देवता हो ।
रोहिणी नक्षत्र हुँदा विश्वभरका लागि आगामी दिन सुखदायक हुने मान्यता छ । यसले विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपको असर कम हुने विश्वास गर्न सकिन्छ ।
शनि आफ्नै राशीमा रहँदा सूर्य र मंगल उच्चमा रहने छन् भने गुरु तल रहने छ ।