चेतावनी, कोरोनाबाट विश्वमा अझै खराब स्थिति आउन बाँकी छ - विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा.टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् ।
उनले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको नराम्रो रुप देख्नेछ ।’ उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरुद्दको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिए ।
मंगलबार जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा महानिर्देशक गिब्रियासले विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे । उनले भने, ‘यो अवस्था एकदमै खतरनाक अवस्था हो र अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लुको महामारी जस्तै हो, जुन फ्लुले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो ।
डा.टेड्रोस माइक्रोबायोलोजिष्ट पनि हुन् । उनी विश्व स्वास्थ्य संगठनको नेतृत्वमा आउनुअघि इथियोपियाका स्वास्थ्यमन्त्री थिए ।