कोरोना परीक्षण :आरडीटी र पीसीआर, आरडीटीको पोजेटिभ किन पीसीआरमा नेगेटिभ हुन्छ ? बझ्नैपर्ने कुरा
सरकारले कोरोना सङ्क्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरेर दुई विधिबाट परीक्षण गरिरहेको छ । रगतको नमुनाबाट गरिने परीक्षण आरडीटी हो भने घाँटीको स्वाब सङ्कलन गरेर गरिने परीक्षण पीसीआर हो ।
के हो आरडीटी ?
एन्टीबडी परीक्षणको एउटा विधि आरडीटी हो । यो अहिले नेपालमा धेरै प्रयोग भएको छ । यसको परीक्षण रगतको नमुनाबाट हुन्छ । र्यापिड किटबाट परीक्षण गर्दा प्रयोगशाला चाहिँदैन । ठूलो विज्ञता पनि आवश्यक पर्दैन । थोरै तालिम दिए पर्याप्त हुन्छ’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा भन्नुहुन्छ, ‘यो विधिबाट फिल्डमै १५ मिनेटको अवधिमा नतिजा हेर्न सकिन्छ ।’ अमेरिका, युरोप, अस्ट्रेलिया र भारतले पनि आरडीटी विधिबाट कोरोना परीक्षण गरिरहेका छन् ।
चिकित्सकका अनुसार प्रयोगशाला परीक्षण वा अन्य परीक्षण आफैँमा पूर्ण हुँदैन । बिरामीको अवस्था अन्य परीक्षणसँग मिलाएर रिपोर्टको नतिजा विश्लेषण गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै मानिसको नमुना परीक्षण एकसाथ गर्नुपर्दा यो विधि अवलम्बन गरिन्छ ।
आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए पनि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिनसक्ने भएकोले आरडीटीबाट कोरोना देखिनेबित्तिकै नआत्तिन तर सावधानी भने अपनाउन प्रवक्ता देवकोटाको आग्रह छ । पीसीआर परीक्षणमा पनि कोरोना पोजिटिभ भेटिएपछि मात्रै पुष्टि भएको मानिने मन्त्रालयले जनाएको छ ।
के हो पीसीआर ?
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाका अनुसार कोरोना सङ्क्रमण भएको, नभएको परीक्षण गर्ने विश्वव्यापी मापदण्डअनुसारको विधि भनेको ‘पोलिमरेज चेन रियाक्सन’ हो । यसलाई छोटकरीमा पीसीआर विधि भनिन्छ । पीसीआर विधिमा जुन नमुना सङ्कलन गरिन्छ, त्यसमा जेनेटिक मटेरियल ‘जिन’ को टुक्रा छ कि छैन भन्ने थाहा पाउन परीक्षण गरिन्छ । ‘यदि नमुनामा जिनको टुक्रा छ भने त्यहाँ भाइरस पनि बसेको छ भन्ने ‘परीक्षणबाट नमुना लिएको बेला सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन भनेर हेरिन्छ । भाइरस भए सङ्क्रमण छ भन्ने बुझ्नुपर्छ ।’
विभिन्न देशले पीसीआरमा आ–आफ्ना मापदण्ड तोकेका छन् । नेपालको पनि आफ्नै मापदण्ड छ । मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआर र यसको दायराभित्र नआएकालाई वैकल्पिक टेष्टको व्यवस्था गर्न सकिन्छ ।
पीसीआरमा साधरणतया भाइरसका लागि दुईवटा वा तीनवटा ‘जिन’ देख्ने कोसिस हुन्छ । ‘योभन्दा माथि ‘जिन सिक्वेन्सी’ पनि छ । जसले पूरा ‘जिन’को परीक्षण गर्छ’, ‘यस्तै अर्को विधि भनेको ‘भाइरस कल्चर’ हो । जसले प्रयोगशालामा दिएको नमुनाबाट सिधै भाइरस निकाल्छ ।
नतिजाको लागि लाग्ने समय
पीसीआर विधिबाट सङ्कलन भएका नमुना तुरुन्तै प्रयोगशालामा पुर्याउँदा चाँडोमा ६ घण्टाभित्र नतिजा दिन सकिन्छ । साधारणतया २४ देखि ७२ घण्टासम्म लाग्न सक्छ । एकपटक दुईवटा ‘जिन’ भेट्न खोज्दा एउटा मात्रै देखिन सक्छ । अर्को भेट्टाउन फेरि परीक्षण गर्नुपर्ने हुन्छ । त्यसकारण एउटा नमुना यति नै समयमा सकिन्छ भन्न गाह्रो नै हुन्छ ।