कोरोना भाइरस शक्तिशाली बन्दै, २०२४ सम्म फैलिने खतरा - हावार्ड युनिभर्सिटी, अमेरिका
काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । भाइरस नियन्त्रणको प्रयासमा छ, तर सफलता हासिल भइसकेको छैन । लकडाउनलाई नै संक्रमण नियन्त्रणको आधार विश्वले मानिरहेको अबस्था छ।
यो महामारी अन्त्य कहिले हुन्छ भनेर पनि कुनै वैज्ञानिकले भन्न सकेका छैनन्, पछिल्लो अध्ययनका अनुसार यो भाइरस अहिले निको भएपनि यसको फैलने खतरा सन् २०२४ सम्म रहने देखाएको छ ।
अमेरिकाको हावार्ड युनिभर्सिटीका शोधकर्ताले यो भाइरसको महामारीको खतरा सन् २०२४ सम्म रहेको बताएका छन् । साथै अहिलेको महामारी रोक्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्ने अभ्यास जारी राख्नुपर्ने अवस्था आउने उनीहरुले बताएका छन् ।
हावार्ड टीएच चान स्कुल अफ पब्लिक हेल्थका पाँच शोधकर्ताहरुको मंगलबार जर्नल साइन्समा प्रकाशित प्रतिवेदनअनुसार अबको चार वर्षसम्म पनि यो भाइरस पुनः फैलिन सक्ने जोखिम कायम रहने देखिएको हो । प्रतिवेदनमा यो भाइरस रोक्न दुई वर्षसम्म सामाजिक दूरी कायम राख्नैपर्ने उल्लेख छैन । लम्ब्याइएको वा केही समयका लागि लगाइने सामाजिक दूरीको व्यवस्था भने सन् २०२२ सम्म जारी रहने उल्लेख गरिएको छ ।
यद्यपि सो समयभन्दा अघि नै यसको खोप पत्ता लागेको, उपचार सम्भव भएको वा गम्भीर अवस्थाको स्याहार क्षमता बढेको खण्डमा भने सामाजिक दूरीको नियम रहनेछैन ।
शोधकर्ताहरुले यो अनुसन्धानको लागि कोरोना भाइरस परिवारका दुई भाइरसको फरक फरक अवस्थाको तथ्यांक लिएका थिए । जसमा मौसमी परिवर्तन र रोगप्रतिरोधी क्षमताको अवधि लगायतका तथ्यांक पनि उल्लेख थियो ।
प्रतिवेदनकाअनुसार मानिसमा रोग प्रतिरोधी क्षमताको विकास मानिसमा स्थायी रुपमा नभएको खण्डमा यो भाइरस बारम्बार आइरहन्छ । तर, स्थायी रुपमा रोग प्रतिरोधी क्षमता विकास भएको खण्डमा भने यो भाइरस पाँच वा सो भन्दा लामो समयका लागि हराउनेछ ।
शोधकर्ताहरुले कुनै पनि मुलुकमा पर्याप्त मात्रामा परीक्षण गरेर मानिसहरुलाई पर्याप्त स्वास्थ्य स्याहार दिन सके सामाजिक दूरी कायम गर्नुपर्ने नियम आवश्यक नहेको बताएका छन् । सामाजिक दूरीको नियमले कोरोना भाइरसको संक्रमित घटाउँदै स्वास्थ्य प्रणालीमाथिको दबाब कम गर्ने उनीहरुको भनाइ छ ।
स्रोत : द साउथ चाइना मर्निङ पोष्ट