चट्याङ पर्न सक्छ ! चट्याङ के हो ? कसरी बच्ने चट्याङबाट
आकाशमा बिजुली चम्किँदै गर्दा ठूलो आवाजका साथ गड्याङगुडुङ गर्न थाल्छ, त्यसैलाई हामीले चट्याङ भन्छौँ। जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै अन्तर पर्दछ र तब बादलहरू यताउता उड्ने गति बढ्छ । जसको कारण बादलभित्र हुरीबतास चल्न थाल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा गर्ने हुँदा धनात्मक र ऋणात्मक विद्युतीय चार्ज उत्पन्न हुन्छ । जब आकाशमा छिटो(छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको खतरा बढी हुन्छ। बादल एकअर्कासँग घर्षण भएर उत्पन्न हुने विद्युतीय करेन्ट निकै शक्तिशाली हुन्छ । एक वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्दा २० हजार एम्पिएर वा सोभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुने गर्छ ।
यो विद्युतीय झट्का कहिलेकाहीँ पृथ्वीसम्म आइपुग्छ । यो झट्काले जहाँ छुन्छ वा जो यसको नजिकमा हुन्छ त्यहाँ क्षति पुग्छ । मानिस वा अन्य प्राणीको मृत्यु हुने, अंगभंग हुने, रुखमा चिरा पर्ने आदि हुनुको कारण त्यही विद्युतीय करेन्ट हो । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । ट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म पनि असर पुर्याउन सक्छ । बिजुली चम्कदा, गड्याङगुडुङ गर्दा रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर, ल्याण्डलाइन टेलिफोन आदि चलाउनुहुँदैन । किनभने यस्ता विद्युतीय उपकरणहरुमा चट्याङले क्षति पुर्याउने खतरा हुन्छ ।
चट्याङबाट जोगिने सरल उपाय
१. घर निर्माण गर्दा नै अनिवार्य रूपमा चट्याङ प्रतिरोधी प्रविधि व्यवस्था गर्नुपर्ने हुन्छ । यस्ता प्रविधिको सहायताले करिब ९० प्रतिशत जनधन सुरक्षा गर्न सकिन्छ ।
२. अनुभवी प्राविधिकको सहायताले घरमाथि तामा वा पाताको त्रिशुल राखेर वा तामाको रड राखेर त्यसलाई जीआई पाता वा आल्मुनियमको पाताले मोडेर जमिनसम्म पुर्याएर गाडिदिनुस् । त्यसमा घरको अर्थिङ लगेर जोडिदियो भने झन् राम्रो ।
३. तपाईं घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन, मोबाइल, कम्प्युटर, ल्यापटप आदि प्रयोग नगर्नुहोस् किनभने यी विद्युतीय उपकरणमा चट्याङका कारण विद्युतीय प्रवाह हुन सक्छ ।
४. धातुका पाइपबाट बनेका धाराहरु पनि प्रयोग नगर्नुहोस् । यसमा पनि विद्युत प्रवाह हुन सक्छ । धातुका सामानबाट कम्तीमा पनि २० मिटर टाढा रहनुहोस् ।
५. पानीबाट पनि टाढा बस्नुहोस् । गड्याङगुडुङ गर्दै बिजुली चम्किरहेको छ र पानी पनि परिरहेको छ भने पानीमा नभिज्नुस् । स्विमिङ पुल, खोला, ताल भएका क्षेत्रबाट पनि टाढा ओत लागेर बस्नुस् ।
६. ओत लाग्ने ठाउँ छैन भने रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको खुल्ला ठाउँमा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ । रुखको ओत लागेर त झनै बस्नुहुँदैन ।
७. यदि तपाईं चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुइँमा घोप्टो परेर बस्नुहोस् । हातलाई घुँडाहरुमा राखेर टाउको त्यसकोबीचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुइँमै सुत्नु चाहिँ हुँदैन ।
८. गाडीभित्र हुनुहुन्छ भने गाडीभित्रै बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलियो भने पनि र टायरको माध्यमबाट अर्थिङ भएर जान्छ ।
९. विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानहरुबाट टाढै रहनुहोस् । जस्तैः गल्फ क्लब, छाता, मोटरसाइकल, साइकल, तारबार आदि ।
१०. चट्याङपछि पनि बन्द भएका विद्युत लाइन वा चुँडिएका तारहरुबाट टाढा हुनुहोस् ।