निषेध गरेर जाने समय सकियो, राष्ट्रिय भाव र एकताकासाथ अघि बढौं - पूर्वराजा शाह
नयाँ वर्ष २०७७ को अवसरमा एक सन्देश दिँदै पूर्वराजा शाहले कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्न सबैलाई आग्रह गरेका छन् ।
पूर्वराजा शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।’
उनले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट देशका विभिन्न भूभाग र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त भएको बताउँदै यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै सबैले सजगता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
‘नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ’ पूर्वराजा शाहले भनेका छन् ।
आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतरा टार्न आफुले हरसम्भव प्रयास गरेको सर्वविदितै रहेको दावी उनले गरेका छन् । यस्तो छ, पूर्वराजा शाहको सन्देशः पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नयाँ बर्ष २०७७ को उपलक्ष्यमा बक्सेको सन्देश नेपाली दिदी बहिनी तथा दाजुभाइहरु, मानव सभ्यताको अनपेक्षीत चुनौतिहरुको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ, नयाँ बर्ष २०७७ को आगमन भएको छ । नयाँ बर्ष प्रारम्भको यस सन्दर्भमा हामी नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको मंगलमय शुभकामना ब्यक्त गर्दछौं । कोरोना भाइरसको विश्वब्यापि महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त छन् । यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ । आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्व्विदित नै छ । मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रब्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान संकटबाट मुक्ति पाउन र भविश्यमा उत्पन्न हुने अस्वभाविक चूनौतिहरुको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ । कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं । हाम्रा पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै रहेको छ । हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ । यही जगमा उभि हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनु पर्ने भइसकेको छ । मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ बर्षमा प्राप्त होस । श्री पशुपतिनाथले विश्वमानव जगतको कल्याण गरुन् । जय नेपाल २०७७ साल बैशाख १ गते